जग्गा सम्बन्धी आर्थिक चलखेल रोक्न कित्ताकाट खोलेको मन्त्री अर्यालको दाबी

जग्गा सम्बन्धी आर्थिक चलखेल रोक्न कित्ताकाट खोलेको मन्त्री अर्यालको दाबी


भू–उपयोग ऐन कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरियो–मन्त्री अर्याल

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा सम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छन् । ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुने क्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको मन्त्री अर्यालले बताएकी हुन् ।

भू–उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालले बताइन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मन्त्री अर्यालले आर्थिक चलखेलमा हुने गरेका सुशासन विरोधी गतिविधि रोक्ने हुटहुटीले कित्ताकाट खुला गर्ने निर्णय गरिएको दाबी समेत गरिन ।

त्यस्तै जनता र राष्ट्रका लागि काम गर्दा आफ्नो नीजि स्वार्थ केही पनि नहुने उल्लेख गर्दै उनले कित्ताकाट खुला गरेपछि भइरहेको सबै आलोचनाहरुको प्रष्टिकरण दिन जरुरी नहरहेको उनको भनाइ छ । मन्त्री अर्यालले अहिले ऐन कार्यान्वयनको चरणमा आइसकेको समेत बताएकी छन् । ५ सय ३३ स्थानीय तहहरुमा भू–उपयोग नक्सा हस्तान्तरण भइसकेको र बाँकी स्थानीय तहहरुमा समेत हस्तान्तरणको गृहकार्य भइरहेको उनको भनाइ छ ।

गत भदौ १८ गते मन्त्रिस्तरिय निर्णयले कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने निर्णय बदर गरेको थियो । सरकारको कित्ताकाट खुला गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट परेको छ । त्यसैले अहिले उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

Logo