राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो ।

विभिन्न देवीदेवताको गण, पुलुकिसी ( ऐरावत हात्ती ), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको बैठक यसै वर्ष मात्र पुनःनिर्माण भएको हो । यस अघि २०७२, २०७३ र २०७४ सालको इन्द्रजात्राको कार्यक्रम विशिष्ट व्यक्तित्वले वसन्तपुर डबलीबाटै अवलोकन गर्नुभएको थियो ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिन सम्म मनाइन्छ । यस अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो । रासस