चीनमा ६ जनामा कोरोना देखियो, ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण गरिंदै

चीनमा ६ जनामा कोरोना देखियो, ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण गरिंदै


बेइजिङ ।

चीनको पूर्वी तटीय शहर क्विन्डाओमा छ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । उहानमा कोरोना भाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

आइतबार क्विन्डाओमा छ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् । चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजार भन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो ।

चीनले कोरोना भाइरस नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पुर्याउन लागिसकेको छ ।

गत साता राष्ट्रिय विदाका अवसरमा देशव्यापी रुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोना भाइरसको खोप निर्माणलाई पनि तिब्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

Logo