सुदूरपश्चिममा ११९ जना नयाँ सङ्क्रमित थपिए

सुदूरपश्चिममा ११९ जना नयाँ सङ्क्रमित थपिए


धनगढी ।

सुदूरपश्चिम प्रदेशमा बुधबार ११९ जना कोभिड-१९ का सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिएका समेत प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना सङ्क्रमित पुगेका छन् ।

मन्त्रालयको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई खासगरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले शहरी क्षेत्रमा सर्वसाधारणको भीड बढ्नुका साथै होमआइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए।

कोभिड-१९ को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलाली जिल्लाका नौ जना, अछाम, बझाङ र बाजुराका दुई/दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक जनाको सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षकसहित २२ जना प्रहरीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै कार्यालयका ४६ जना प्रहरी सङ्क्रमित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए। ‘‘सङ्क्रमित सबै प्रहरी आइसोलेशनमा हुनुहुन्छ, बिष्टले भने, ‘‘प्रहरी उपरीक्षक भने आफैँ निवासको होमआइसोलेशनमा हुनुहुन्छ ।”

Skip This
Logo