सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमतिदेखि दशैंमा सुरक्षित यात्रा गर्न सरकारको आग्रहसम्म (भिडियोसहित)

सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमतिदेखि दशैंमा सुरक्षित यात्रा गर्न सरकारको आग्रहसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो भन्दै सरकारसँग प्रश्न गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई त्यस्तो प्रश्न गरेका हुन् ।

पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीयबासीले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् ।

त्यस्तैगरी अब सहकारी संस्थाहरुको संख्या १५ हजारमा झारिने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना (२०७७/७८–२१०२/०३) को मस्यौदामा सहकारी संस्थाहरुको संख्या १५ हजार तथा सदस्यको संख्या डेढ करोड रहने प्रक्षेपण गरिएको हो ।

सरकारले दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिँदा र आउँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo