प्रदेश ५ को राजधानी दाङ सारिएको भन्दै बुटवलमा प्रदर्शन, प्रदर्शनकारी भन्छन् ‘नेकपाका नेतालाई पार्टी प्यारो कि जनता ?’

प्रदेश ५ को राजधानी दाङ सारिएको भन्दै बुटवलमा प्रदर्शन, प्रदर्शनकारी भन्छन् ‘नेकपाका नेतालाई पार्टी प्यारो कि जनता ?’


काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बुटवलमा प्रदर्शन भएको छ । गत शुक्रबार ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए । उनले प्रदेश सभामा प्रस्ताव पेश गर्दै भनेका थिए–‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्दछु ।’ मन्त्री केसीले उक्त प्रस्ताव पेश गरेसँगै बुटवलमा विरोध प्रदर्शन भएको हो ।

आइतबार रुपन्देहीका व्यवसायी संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा सामाजिक संस्थाका अगुवाहरुले पार्टीको ह्वीप छाडेर आफूहरुको आन्दोलनमा सहभागी हुन नेकपाका प्रदेश सांसदहरुलाई आग्रह गरेका छन् । आन्दोलनरत पक्षका अगुवाहरुले पार्टीको गलत निर्णय प्यारो कि जनता ? भन्दै नेकपाका प्रदेश सांसदहरुसँग प्रश्न समेत गरेका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जनमत कुल्चेर अर्को चुनाव हार्ने कि, जनमतको कदर गरेर आगामी चुनाव पनि जित्ने ? भन्दै प्रश्न गरे ।

त्यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले प्रक्रिया मिचेर प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्ताव अगाडि बढाइएकाले आफूहरु सडकमा आउन बाध्य भएको बताए । साथै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले आज आन्दोलनको सुरुआत मात्रै भएकाले थप विरोधका कार्यक्रम आगामी दिनमा आउने जानकारी दिए ।

नेपाली कांग्रेस र रुपन्देहीका सामाजिक संघ संस्थाको सञ्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बुटवलका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । राजधानी सार्ने प्रस्तावको विरोध गर्दै आइतबार बुटवलको राजमार्ग चौराहा चोकदेखि ट्राफ्रिक चोकसम्म र्याली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

प्रदेश नम्बर ५ सरकारले गत शुक्रबार प्रस्ताव दर्ता गराएको थियो  । नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने सहमति भएको थियो । दुई अध्यक्षबीचको समझदारीपछि मुख्यमन्त्री शंकर पोखरेलले तयार पारेको प्रस्ताव प्रदेश सभामा लगिएको थियो ।

त्यस्तैगरी प्रदेश सभाले नाम र राजधानी सम्बन्धी प्रस्तावमा छलफल गर्न भोलि अर्थात असार १९ गते प्रदेश सभाको बैठक बोलाएको छ । प्रस्तावलाई मतदान प्रक्रियामा लगेर निर्णय गराउने प्रदेश सरकारको तयारी रहेको छ  । भोलि बस्ने बैठकमा गत शुक्रबार पेश भएको प्रस्तावमाथि छलफल हुनेछ । एक दुई दिन उक्त प्रस्तावमाथि छलफल गरेर मतदान प्रक्रियामा जाने प्रदेश सरकारको तयारी छ ।

प्रदेश नम्बर ५ मा अहिले ८७ जना सांसद रहेका छन् । जसमध्ये सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । प्रदेश सरकारले पेश गरेको उक्त प्रस्ताव पास हुन दुई तिहाइ मत आवश्यक पर्दछ । प्रदेश नम्बर ५ मा दुई तिहाइ मत भनेको ५८ मत हुन्छ । प्रदेश नम्बर ५ मा नेकपाको सरकार हुनु, पार्टीको केन्द्रबाट ह्वीप जारी गर्नु र नेकपा एक्लैसँग ६१ जना सांसद भएकाले प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानी प्रदेश सरकारले पेश गरेको प्रस्तावभन्दा बाहिर जाने सम्भावना छैन ।

Logo