डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित


काठमाडौं । विगत २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

जुम्लाबाट १९ औँ पटक अनसन सुरु गरेका डा. केसीको अनसनको २१ औँ दिनमा स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका छन् । धर्नामा सहभागी चिकित्सक डा. सुवास देवकोटाले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा समेत सरकारले चासो नदिएकोप्रति आक्रोश पोखे । स्वास फेर्न गाह्रो हुने, छाति दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन दिन थालिएको छ । उनले तत्काल डा. केसीले उठाएका माग पूरा नभए कडा कदम चाल्ने चेतावनी समेत दिए ।

त्यस्तै अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौताहरु कार्यान्वयनमा समस्या देखिएको बताए । दुर्गम क्षेत्रमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने केसीको मागमा अहिलेसम्म जनता र विभिन्न राजनीतिक दलहरुले स्वस्फुर्त रुपमा ऐक्यवद्धता जनाउँदै आएकोमा सरकारले नसुनेकाले अब चिकित्सकहरु समेत खबरदारीका लागि आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

नेपाल चिकित्सक संघले पनि केसीको माग पूरा गर्न माग गर्दै चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । संघले तत्काल डा. केसीका माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघका महासचिव बद्री रिजालले छिटोभन्दा छिटो डा. केसीसँग सरकारले वार्ता गर्नुपर्ने माग गरे । वार्ताका लागि कुनै पहल नभए संघले आफ्ना आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ । आन्दोलनमा सहभागी चिकित्सकहरुले ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर’, ‘हिजोको सम्झौता कता गयो ?’, ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर’, ‘अख्तियारमाथिको हस्तक्षेप बन्द गर, दलीय भागबण्डा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Logo