पार्टी प्यालेस सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग व्यवसायीको माग

पार्टी प्यालेस सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग व्यवसायीको माग


काठमाडौं ।

पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका छन् ।

देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका हुन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले राज्यले तत्काल निर्वाध रुपमा पार्टीप्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरे ।

कुरा गर्दै अध्यक्ष जिसिले होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने तर पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न नदिने कुरा नमिल्दो भएको बताए । भौतिक दुरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दा समेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पस्ट पार्नु पर्ने बताए। उनले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्ने भ्रममा सरकार रहेको बताए । ठूला होटल तथा रेष्टुरेन्टका पार्टीहलहरु सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफुहरुले नमान्ने पनि अध्यक्ष जिसिले बताए।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले करिब ७ महिना यता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाट नै पलायन हुने स्थितिमा आफूहरु पुगेको बताए । अहिले देशभर २ सय भन्दा बढी व्यवसायीहरु पलायन भइसकेको बताउँदै अझ बढी क्षति हुने देखिएको बताए। ५० हजार भन्दा बढीको रोजगारी गुम्ने मात्र नभएर सरकारले वार्षिक २ अर्ब भन्दा बढी राजश्व समेत गुमाएको उनको भनाई छ ।

त्यस्तै पछिल्लो समय आफूहरुसँग कर्मचारीका लागि तलब खुवाउन समेत पूँजीको अभाव भएको उनले बताए । त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा मँहगि बढेको उनले दावी गरे । प्रवक्ता पाण्डेका अनुसार कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ । यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उनले बताए ।

बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु सबैभन्दा बढी समस्यामा परेको पनि उनले बताए। अन्य उद्योग व्यवसाय सरह यो व्यवसायलाई लिन पनि प्रवक्ता पाण्डेले सरकारसँग आग्रह गरे । संकटको बेला पार्टी प्यालेस व्यवसायीहरुले सरकारबाट कुनैपनि राहत पाउन नसकेको गुनासो उनको छ ।

व्यवसायीहरुले आफूहरु कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले तोकेको मापदण्डसहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन् । सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले बताएका हुन् ।

Logo