बाढी पहिरोबाट प्रभावितलाई हिउँदसम्म व्यवस्थापन गर्ने गृहमन्त्रीको दाबी

बाढी पहिरोबाट प्रभावितलाई हिउँदसम्म व्यवस्थापन गर्ने गृहमन्त्रीको दाबी


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने दाबी गरेका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभर नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने दाबी गरेका हुन् । सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री थापाले हिउँद सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताए ।

त्यस्तै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए । यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनको भनाइ छ । जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनु अघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए ।

त्यस्तैगरी यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । साथै, १७ सय ७० जना घाइते भएका छन् । भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ । गत असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो । यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

Logo