नाकाबाट सामान नआउँदा काठमाडौंका थोक व्यापारीहरु मारमा (भिडियोसहित)

नाकाबाट सामान नआउँदा काठमाडौंका थोक व्यापारीहरु मारमा (भिडियोसहित)


काठमाडौं ।

करिब एक वर्षबाट केरुङ नाकामा लत्ताकपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा परेका छन् ।

कोभिड-१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ताकपडा लगायतका सामान रोकिएका हुन् । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् । संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।

उपत्यकाका खुद्रा व्यापारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवसाय सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुको भनाइ छ । गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नु पर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ । बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाइ छ ।

अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको र उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारीहरुको भनाइ छ । दशै अगाडि केरुङ नाकाबाट सामान आउन सक्ने अवस्था नभएकाले पुरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहेको छ । पछिल्लो समय प्रतिदिन ५ वटा कन्टेनर नेपाल आउने गरेको भए पनि लत्ताकपडा लगायत कस्मेटिक सामान बोकेका कन्टेनरहरुले भने पालो पाउने नगरेको उनीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो । बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल लगायत अर्बौं रूपैयाँका सामान छन् ।

Logo