हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा


धनुषा ।

धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली मंगलबार धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिन अघि सो समितिले छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

संसदीय अध्ययन समितिमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा उमाशङ्कर अरगरिया, पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, लालबहादुर थापा र समीमा हुसैन सदस्य छन् ।

समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका सदाको परिवारसँग मंगलबार छलफल गरेको थियो । समितिका सदस्य तथा धनुषाका सांसद समेत रहेका अरगरियाले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा र श्रीमतीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको बताए । टोलीले हिजै नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको थियो ।

गत जेठ २७ गते सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला ­१२ निवासी २३ वर्षीय सदा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा प्रकृति हेर्दा शम्भुको हत्या भएको उनको परिवार तथा अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

समितिका पदाधिकारी मङ्गलबार धनुषाबाट टोली रौतहटतर्फ गएको सदस्य अरगरियाले बताए । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए।रासस

Logo