काठमाडौंका सबै स्थानीय तहमा गुर्जो रोपण

काठमाडौंका सबै स्थानीय तहमा गुर्जो रोपण


काठमाडौं । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आउनुभएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरे ।

बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा वितरण गरिएको पनि उनले सुनाए । यसैगरी ललितपुरको ठैब क्षेत्रका लागि पनि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ । कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाए ।

महालक्ष्मी नगरपालिकामा समेत आइसोलेसन कक्षमा बसेकाका लागि गुर्जोको चिया हस्तान्तरण गरिएको छ । महालक्ष्मीमा नगर प्रमुखसमेत कोरोना सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका उनलाई पनि नगरपालिकामार्फत् नियमित सेवनका लागि छुट्टै गुर्जोको चिया हस्तान्तरण गरिएको छ ।

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ । गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन् । उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ । नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ ।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा रोपणका लागि हस्तान्तरण गरिएको छ ।

गुर्जो रोपण अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी, जीवन विज्ञानका योग प्रशिक्षक रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि राजलवटसँगै जुटेका छन्  ।

Skip This
Logo