सुपर ओभरमा बैंगलोर विजयी

सुपर ओभरमा बैंगलोर विजयी


रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरे । पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बैंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि १ रन लिए । तेस्राे बलमा रन हुन सकेन । चौथो बलमा डी भिलियर्सले चौका प्रहार गरे । पाँचौ बलमा १ रन लिएपछि कोहलीले अन्तिम बलमा चौका प्रहार गर्दै ब‌ैंगलोरलाई जित दिलाए ।

यसअघि त्यसअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्ड्याले १४ र क्विनटन डी कक १४ रनमा आउट भए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए ।

शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

Logo