कारागारभित्रै १८० बेडकाे आइसोलेसन

कारागारभित्रै १८० बेडकाे आइसोलेसन


झापा । कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले १८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए ।

महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले बताए । हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन् । कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेसन निर्माण गरिएको गौतमले बताए ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको संक्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए ।

जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेसनमा अलग्गै शौचालयको व्यवस्था समेत मिलाइएको छ । सामग्री अभावका कारण बिरामी बस्नका लागि खाटको सुविधा भने छैन ।

Logo