टोखामा हालसम्म ३ संक्रमितकाे मृत्यु

टोखामा हालसम्म ३ संक्रमितकाे मृत्यु


काठमाडौं ।  टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो ।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन् ।

कोरोना संक्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेका, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहीन छन् ।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए । काठमाडौं महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको नगरपालिका टोखा हो । टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ ।

Skip This
Logo