संगीत अर्थात् विश्वव्यापी भाषा

विश्व संगीत दिवसको अवसरमा विशेष लता मंगेशकरको जन्म भारतमा भयो । गुलाम अली पाकिस्तानमा जन्मिए । देश विभाजन भएको ७० वर्ष नाघिसक्दा पनि भारत–पाकिस्तान एक अर्कालाई ठुलो शत्रु मान्छन् । सिमानामा काँडेबार कोरिएको छ । हरेक दिनजसो गोली चल्छ । तर लता मंगेशकर र गुलाम अलीजस्ता गायक–गायिका भौगोलिक सीमाभन्दा माथि छन् । गुलाम अली भारतमा पनि प्रिय छन् । लता मंगेशकर पाकिस्तानमा पनि प्रिय छिन् । उनीहरू विश्वभर लोकप्रिय छन् । संगीतको माध्यमबाट तपाईं–हामीले विश्वका सबै सिमानाहरू भत्काउन सक्छौं । सबै भाषा र संस्कृतिसँग अन्तरसंवाद गर्नसक्छौं । विश्वकै सबैभन्दा धेरै बोलिने अंग्रेजी वा फ्रेन्च भाषाले जसरी एक अर्कालाई जोड्न सक्छ, त्योभन्दा धेरै गुणा संगीतले हामीलाई जोड्नसक्छ । त्यसो भए के संगीत विश्वव्यापी भाषा हो ? यो छुट्टयाउनका लागि हामीले विश्वव्यापी र भाषाबीचको अन्तर छुट्टयाउनुपर्ने हुन्छ । हरेक मानव संस्कृतिसँग संगीत छ । जसरी हरेक सभ्यतासँग आ–आफ्नै भाषा छ । संगीत मानवीय अनुभवको विश्वव्यापी आवश्यकता हो । संगीत र लिपि दुवै संस्कृतिका पाटा हुन् । संगीतमा मौलिकता हुन सकेन भने त्यो फिक्का र असुहाउँदो देखिन्छ । कम्तीमा पनि दुई आधारभूत भाव संगीतबाट प्रस्फुटित हुन्छ । खुसी र दुःख । मानिसका लागि यी भाव दर्शाउने महत्वपूर्ण माध्यम हो संगीत । माथिल्लो पिच, रिदम र तीव्र गतिको संगीतले जसरी खुसी दर्शाउँछ, यसको उल्टो संगीतले त्यति नै विरह झल्काउँछ । हामीमध्ये सबैसँग संगीतकार बन्ने खुबी नहुनसक्छ । तर भाषा आफैंमा पनि मेलोडी हो । यसमा पनि उही फिचर पिच, रिदभ र टेम्पो हुन्छ । यसले पनि भावनाहरू प्रस्फुटित गर्छ । फ्रेन्च, जापानिज वा तपार्इंले नबुझ्ने कुनै पनि भाषामा अरूले बोलेको हेर्नुहोस् । उनीहरूले के कुरा गर्दैछन् भन्ने तपार्इंले उनीहरूले बोल्दै गर्दाको भावबाट अनुमान लगाउन सक्नुहुन्छ । उनीहरू खुसी छन् वा दुःखी छन् भन्ने कुरा उनीहरूले बोल्दै गर्दा देखाउने भावले प्रस्ट गर्छ । जसरी हामीले विदेशी भाषा नबुझे पनि त्यसलाई आफ्नै भाषा जसरी ग्रहण गर्न सक्छौं, त्यसरी नै संगीत सुन्दै गर्दा पनि हामीमा एक प्रकारको ऊर्जा आउँछ । जसका कारण हामीले त्यस संगीतको भावलाई ग्रहण गर्छौ । यस कोणबाट हेर्दा संगीत मानिसहरूका भावना साटासाट गर्ने विश्वव्यापी माध्यम हो । भौतिक विज्ञानमा लागेकाहरू विभिन्न फर्मुलाका आधारमा बोल्छन् । फूलका माध्यमबाट पनि धेरै कुराहरु अभिव्यक्त हुन्छन् । जस्तो– रातो गुलाबको अर्थ एउटा हुन्छ भने पहेँलो ड्याफोडिलको अर्थ अर्कै हुनसक्छ । यहाँ फूलको मात्रै नभएर शरीरको पनि भाषा हुन्छ जसलाई हामी ‘बडी ल्याङग्वेज’ भन्छौं । मानिसको अनुहारको भाव, हाउभाउ, हिँडाई र सामाजिक उपस्थितिले पनि धेरै कुरा बोल्छ । भाषालाई सञ्चारको माध्यमका रूपमा लिइन्छ । अर्थपूर्ण संकेत र शब्दको नियमबद्ध रूपमा प्रयोगले भाषा मीठो बन्छ । बिहान बज्ने घण्टी र जनावरले खाना खाने बेलामा भोक लागेपछि निकाल्ने आवाजले पनि हामीलाई धेरै कुरा बुझाउँछ । चराको गीतले उत्तिकै महत्वपूर्ण संकेत मानिन्छ । तर ती सबै कुरामा त्यसरी व्याकरण मिलेको हुँदैन, जसरी हामीले बोल्ने भाषमा व्याकरण हुन्छ । हाम्रो भाषमा झैं संगीतमा पनि व्याकरण छ । यही व्याकरणले संगीतलाई मीठो बनाउँछ । हामीले बोल्ने फरक–फरक भाषाको व्याकरण फरक भए पनि संगीतको व्याकरण उस्तै–उस्तै छ । समग्रमा संगीत र भाषा धेरै कुरामा समान छन् । संगीत एउटा सशक्त भाव हो, त्यस्तो भावना जो सबैस‘ग उस्तै हुन्छ, जसले सबैका उस्तै पीडा र खुसीहरूलाई उस्तै–उस्तै माध्यमबाट प्रस्फुटित गर्छ । यस अर्थमा बुझ्दा संगीत विश्वव्यापी भाषा हो । (आज विश्व संगीत दिवस । जर्जिया ग्विनेट्ट कलेजका प्रोफेसर डाक्टर डेभिड लुडानले लेखेको लेख सान्दर्भिक भएका कारण त्यसको भावानुवाद यहाँ प्रकाशित गरिएको हो ।)