२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौं ।

कोरोना कहरकैबीच नेपाल आउने रेमिट्यान्स चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २३ प्रतिशतले बृद्वि भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बृद्वि भएको छ ।

यसरी बृद्वि भएर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्ष ०७५ साउनको तुलनामा ०७६ साउनमा रेमिट्यान्स २ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

त्यस्तै, यो समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई १०१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

Logo