विगत नौ वर्षमा बाढीपहिरोबाट साढे १६ अर्बको क्षति, ८ सय जनाले ज्यान गुमाए

विगत नौ वर्षमा बाढीपहिरोबाट साढे १६ अर्बको क्षति, ८ सय जनाले ज्यान गुमाए


काठमाडौं ।

मुलुकमा बाढीपहिरोको क्षति बर्सेनि बढ्दो क्रममा छ । स्याङ्जाका दुई स्थानमा गएको बाढीपहिरोबाट बिहीबार १० जनाको मृत्यु भएको छ ।

यसअघि सिन्धुपाल्चोक, बागलुङ, अछाम लगायतका जिल्लामा गएको पहिरोले दर्जनौंको मृत्यु भए पनि भौतिक क्षतिको एकीन तथ्यांक आउन सकेको छैन । यता, सरकारले भने सिन्धुपाल्चोक र बागलुङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढीपहिरोबाट भएको क्षतिको चालू आवको एकीन विवरण संकलन नभइसके पनि गत नौ वर्षमा मुलुकभर बाढीबाट करिब १६ अर्ब ६५ कराेड बराबरको क्षति पुगेको छ । वि.सं. २०६८ देखि गत असारसम्मको अवधिमा बाढीपहिरोले भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा त्यसको अनुमानित क्षति साढे १६ अर्ब नाघेको हो ।

राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७’ अनुसार नौ वर्षमा देशभर बाढीले ८ सय जनाको ज्यान लिएको छ भने ५ सयभन्दा बढी बेपत्ता भएका छन् । यस हिसाबले बाढीले बर्सेनि सरदर १५० जनाको ज्यान लिएको कार्ययोजनामा उल्लेख छ । कार्ययोजना अनुसार बाढीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

गत वर्ष मनसुनमा औसतमात्र पानी परे पनि बाढीले भने ७३ जनाको ज्यान गएको थियो । जसमा १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको कार्ययोजनामा उल्लेख छ । गृह मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष बाढीबाट भएको आर्थिक क्षतिको विवरण भने संकलन हुन बाँकी छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै पनि पानी पर्ने क्रम जारी छ र मुलुकभर बाढीको जोखिम बढेकाले सतर्क हुन जरुरी छ । यो वर्ष औसतभन्दा बढी वर्षा भइरहेको छ । बाढीको जोखिमबाट बच्न जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित क्षेत्रका सर्वसाधारणलाई पूर्वसुचना प्रवाह गरिरहेको छ । विभागका अनुसार असोज ६ र ७ गते रातिबाट देशका सबै नदीमा बहाव बढेको र असोज ८, ९ र १० गते देशैभरका नदीमा पानीको बहाव उच्च रहने भएकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा अति उच्च सतर्कता अपनाउनु आवश्यक छ ।कारोबारबाट

Logo