वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्दैः यस्ता छन्,फाइदा

वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्दैः यस्ता छन्,फाइदा


काठमाडौं ।

पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कोर क्याटिपलको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरुले ऋणपत्र निष्काशन गरेका हुन् ।

अहिले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा ऋणपत्र निष्काशनका लागि अनुमति माग्नेको लाम छ भने कतिपय बैंकले निष्काशन गरिसकेका छन् । ऋणपत्र निष्काशन गर्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । त्यस्तै, २४ लाख इकाई संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्दैछ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । बैंकलाई आवश्यक अतिरिक्त पूँजी जुटाउन पछिल्लो समय ऋणपत्रलाई पनि आधार बनाएका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी, सिद्धार्थ बैंकले असोज १६ गतेदेखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको छ । जसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि र १८ लाख इकाई अन्य संघसंस्थालाई विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको सो ऋणपत्रमा ‘ सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बारबरको ऋणपत्र बिक्री गर्ने भएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले पनि ३ अर्ब रुपैँयाँ बराबरको ऋणपत्र निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले ३० लाख युनिट निष्काशन गर्न लागेको हो । बैंकले ४० प्रतिशत सर्वसाधारण र बाँकी प्राइभेटलाई विक्री गर्नेछ । सो ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत रहनेछ । यस बैंकको ऋणपत्रको विक्री प्रवन्धक सेन्चुरी क्यापिटल रहेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि भदौ २९ गते बोर्डमा आवेदन दिएको थियो ।

के हो ऋणपत्र ?

कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर तथा भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र नै ऋणपत्र हो । अर्थात एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदकर्ताको सम्पत्ति नै ऋणपत्र हो ।

बैंक तथा वित्तीय संस्थाका लागि ऋणपत्र पुरक पूँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पूँजी पर्याप्तता कायम गर्ने औजार हो । बैंकहरुलाई अतिरिक्त पूँजीको आवश्यकता परेको खण्डमा ऋणपत्र निष्काशन गर्ने गर्छन् । ऋणपत्रको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण शेयर तथा अग्राधिकार शेयरलाई लाभांश बाँड्नु अघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्ने गर्छन् ।

ऋणपत्रमा लगानी गर्नु फाइदाजनक मानिन्छ । किनकी ऋणपत्र जारी गरेको संस्था घाटामा गए पनि लगानीकर्ताले ब्याज भने निरन्तर पाइरहन्छन् । ऋणपत्रको ब्याज बैंकले मुद्दति खातामा दिने ब्याज भन्दा आकर्षक हुन्छ । खासमा लगानीमा जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि ऋणपत्रको लगानी निकै सुरक्षित मानिन्छ ।

Logo