‘नेपाल र चीनबीच सीमा समस्या छैन’

‘नेपाल र चीनबीच सीमा समस्या छैन’


सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ । यही असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र समस्या नभएको बताए ।

“नेपाल र चीनबीच सीमा समस्या छैन । कहीँकतै देखा परे पनि बसी छलफल गरेर समाधान गर्ने हाम्रो सौहार्द सम्बन्ध छँदै छ”, उनले भने । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सीमा विवादबारे आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै भन्नुभयो, “केही दिनअघि नेपालका सञ्चारमाध्यम र बाहिरका सञ्चारमाध्यममा समेत नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको सीमाभित्र आएर घर बनाएको भनेर विभिन्न खालका समाचार सम्प्रेषण भएका छन् । नेपाल र चीनबीचको सीमा समस्याबारे समाचार सम्प्रेषण गर्नुपूर्व सम्बन्धित मन्त्रालय, विभागको आधिकारिक धारणा बुझेर मात्र गर्नुपर्छ । दुई देशबीचको सीमाको विषय संवेदनशील भएकाले आधिकारिक धारणासहित समाचार आउनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थगलगत अध्ययनका लागि टोली गएको र फर्केर आइसकेपछि थप केही कुरा भए सरकारले जानकारी गराउने उनले बताए । प्रवक्ता ज्ञवालीले यस्तै खालको समाचार सञ्चारमाध्यममा २०७३ सालमा पनि आएको उल्लेख गर्दै त्यतिबेला सरकारले अन्तरमन्त्रालय छानबिन गरेको बताए-“गृह, परराष्ट्र, नापी विभागसमेतको टिमले स्थलगत अध्ययन गरेर त्यतिबेला बनेका घरहरु नेपाल, चीन सीमाभन्दा एक किलोमिटर चिनियाँ भूभागमा नै भएको भनेर प्रतिवेदन दिएको रहेछ । अहिले पनि त्यही ठाउँमा घर बनाएको जानकारी प्राप्त भएको छ ।”

Logo