कालीमाटीमा बढेन तरकारीको आपूर्ति, मूल्य भने दैनिकरुपमा बढ्दै

कालीमाटीमा बढेन तरकारीको आपूर्ति, मूल्य भने दैनिकरुपमा बढ्दै


काठमाडौं ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा घटेको तरकारी आउनेको परिमाण बन्दाबन्दी सकिएपछि पनि बढ्न सकेको छैन ।

बन्दाबन्दी हुनु अघि कालीमाटी बजारमा दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने गर्दथ्यो । तर, बन्दाबन्दी शुरू भएदेखि नै त्यो परिमाण घटेर दैनिक ४ सयदेखि ५ सय टनमा सीमित भएको थियो । बन्दाबन्दी र निषेधाज्ञा हटेर सार्वजनिक यातायात सहज भए पनि तरकारी आयातको परिमाण बढ्न सकेको छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बन्दाबन्दी सकिएपछि कालीमाटीमा भित्रिने तरकारीको परिमाण बढ्नु पर्ने हो । तर, अहिले तरकारीको उत्पादन नै घटेका कारण भित्रिने दर पनि घट्न पुगेको हो ।

तरकारीका लागि पकेट क्षेत्र मानिने धादिङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, सर्लाही, सिरहा, सप्तरी लगायत जिल्लासँगै अहिले देशभरि तरकारी उत्पादनको स्थिति निकै कमजोर भएको उनले बताए । ‘पकेट क्षेत्रमा नै उत्पादन घटेकाले उपत्यकामा तरकारी भित्रिने दर कम हुन गई मूल्यसमेत बढेको हो,’ उनले भने ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष गीताप्रसाद आर्चायको भनाइ पनि त्यस्तै छ । ‘कालीमाटी तरकारी बजारमा यो सिजनमा तरकारी आपूर्ति गर्ने प्रमुख जिल्लाहरू दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा लगायत जिल्लाबाट तरकारी भित्रिने दर करीब ४० प्रतिशतले घटेको छ,’ उनले भने ।

ती क्षेत्रका किसानले समयमा मल, बीउ नपाएका कारणले समयमा उत्पादन गर्न नसकेर यस वर्ष उत्पादन घटेको बताउने गरेको उनले सुनाए । गतवर्ष यस समयमा मकवानपुरको पालुङबाट दैनिक रूपमा १२ गाडी तरकारी आपूर्ति हुने गरेको भए पनि यस वर्ष भने उत्पादन घटेकाले दैनिक ४ गाडीभन्दा धेरै तरकारी आउन नसकेको उनको भनाइ छ । यसबाहेक तराईका जिल्लाहरूमा समेत वर्षाका कारण तरकारीको उत्पादन राम्रो नभएको व्यवसायीहरू बताउँछन् ।

गतवर्षको यही अवधिको तुलनामा अहिले दैनिक रूपमा कालीमाटी बजारमा भित्रिने तरकारी तथा फलफूलको परिमाण भने आधाभन्दा धेरैले घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक भित्रने विवरण हेर्दा गतवर्षको असोज ३ गते ९ सय टनभन्दा धेरै तरकारी, माछा, फलफूल र मसलाजन्य वस्तु भित्रिएको छ । त्यसैगरी असोज ४ गते ८ सय टन र ५ गते ७ सय ४० टन तरकारी भित्रिएको छ ।

यस वर्षको असोज ३ गते ४ सय टन, ४ गते ३ सय टन र ५ गते दिउँसोसम्म करीब ३ सय टन मात्रै तरकारी कालीमाटी बजारमा भित्रिएको छ ।अभियान दैनिकबाट

Logo