असाेजकाे कोरोना तथ्याङ्क : संक्रमितमध्ये काठमाडौंमै ५२ प्रतिशत

असाेजकाे कोरोना तथ्याङ्क : संक्रमितमध्ये काठमाडौंमै ५२ प्रतिशत


नेपालकाे संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणदर उच्च देखिएकाे छ । असाेज १ गतेदेखि आजसम्म ५ दिनकाे तथ्याङ्क मात्र हेर्ने हाे भने संक्रमणदर ह्वात्तै बढेकाे देखिन्छ ।

असाेज १ गतेदेखि आजसम्म देशभर ६ हजार ९४९ जनामा कोरोना संक्रमण देखिएकाे छ । हरेकदिनकाे तथ्याङ्कअनुसार आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन्  । असाेज १ गतेयता ५ दिनमा काठमाडौं उपत्यकामा मात्र ३ हजार ६२९ जना संक्रमित थपिएका छन् । याे संख्या देशभरकाे संक्रमितकाे ५२ प्रतिशत हाे ।

गत असाेज १ गतेकाे कुल संक्रमित १ हजार २४६ थप हुँदा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५०७ संक्रमित पहिचान भए  । त्यसैगरी ललितपुर र भक्तपुरमा क्रमश: ६१ र ५० जना संक्रमित थपिएका तथ्याङ्कमा देखिन्छ ।

असाेज २ गते देशभर २ हजार २० जनामा कोरोना पोजेटिभ देखियो । त्योदिन काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ६९८ जना, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएकाे थियो ।

साथै असाेज ३ गते १ हजार २०४ जनमा संक्रमण देखिँदा काठमाडौं उपत्यकामा मात्र थप ७११ जनामा संक्रमण देखियो । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । त्यसैगरी भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जनाको कोरोना संक्रमण देखिएकाे थियो ।

हिजो ४ गते देशभर १ हजार ३२५ जना संक्रमित हुँदा काठमाडौं उपत्यकाका संक्रमित ७६७ जना थिए ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं ६०२ जना, भक्तपुर १०१ जना र ललितपुर ६४ जना संक्रमित थप भएका हुन् ।

आज देशभर १ हजार १५४ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

Logo