मिर्गौला पीडितलाई फेसबुकबाट जुट्यो ११ लाख

मिर्गौला पीडितलाई फेसबुकबाट जुट्यो ११ लाख


चितवन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि ११ लाख ८५ हजार रुपैयाँ सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो ।

देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश सदस्यसमेत रहेका समाजसेवी एवं व्यवसायी घोतानेले बताए-“कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु ।”

विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएको थियो । सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग सङ्कलनका लागि अभियान चलाएको घोतानेले बताए ।

पीडितको उपचारका लागि सङ्कलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ । अभियानकर्मी घोतानेले विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा पीडितका परिवारलाई रकम हस्तान्तरण गरे ।

Logo