‘पर्यटनमा ६० अर्ब बराबरको क्षति’ : मन्त्री भट्टराई

‘पर्यटनमा ६० अर्ब बराबरको क्षति’ : मन्त्री भट्टराई


दमौली ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

रोटर्याक्ट क्लव अफ पोखरा फिस्टेल, रोटर्याक्ट क्लव अफ रुपन्देही र रोटर्याक्ट क्लव अफ तिनाउ बुटवलको आयोजना र रोटर्याक्ट क्लव अफ दमौलीको सहकार्यमा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले युवा शक्तिको परिश्रमबाट देश समृद्धिको यात्रामा जाने उल्लेख गरे ।

उनले भने, “देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।”

कोभिड–१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले जानकारी दिए। उनका अनुसार पर्यटन क्षेत्रमा १५ खर्बको लगानी रहेको र कोरोनाका कारण धरासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताए ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीले कोभिड–१९ र यसका विरुद्धमा सहजीकरण गरेकी थिइन् । सो क्रममा उनले भान्छामा पाक्ने खानाले नै हरेक रोगसँग लड्न सक्ने क्षमता विकास गर्ने जानकारी दिइन् । “दाल, भात, तरकारीले नै रोगसँग लड्ने क्षमता बढाउँछ, चाउमिन, मःम लगायत पत्रु खाना हुन्,” उनले भनिन् । त्यस्तै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक कमलनयन गौतमले युवा र समाजसेवाका बारेमा सहजीकरण गरेका थिए।रासस

Logo