सिन्धुपाल्चोकका पहिरो पीडितलाई युवा सङ्घ र सिन्धु वेलफेयर सोसाइटीको राहत सहयोग

सिन्धुपाल्चोकका पहिरो पीडितलाई युवा सङ्घ र सिन्धु वेलफेयर सोसाइटीको राहत सहयोग


सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिका–७ नागपुजेका पहिरो पीडितलाई राष्ट्रिय युवा सङ्घले सहयोग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटाको टोली घटनास्थल पुगेर पीडितलाई सहयोग गरेको हो ।

युवा सङ्घले पहिरो पीडितलाई जनप्रतिनिधिको रोहवरमा १८१ बोरा चामल, १९० लिटर तेल, २०० किलो दाल र ८० किलो नुन वितरण संयोजक सापकोटाले बताए । राहत सामाग्री हस्तान्तरण गर्दै उनले घर पूर्णरुपमा क्षति पुर्याएका १६ घर पुनर्निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे। गत भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

सिन्धु वेलफेयर सोसाइटीबाट सहयोग

सिन्धु वेलफेयर सोसाइट अमेरिकाका तर्फबाट बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । तत्कालका लागि दुई लाख ५० हजार सहयोग गरेको हो । अमेरिकामा बसोबास गर्दे आएका सिन्धुपाल्चोकवासीले पहिरो पीडितलाई पठाइएको सहयोग रकम नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले वितरण गरिन् । सहयोग रकम पहिरोमा आफन्त गुमाएकालाई रु सात हजार ५०० र विस्थापित ७० परिवार लाई रु दुई हजार ५०० का दरले हस्तान्तरण गरिएको उपप्रमुख पाख्रीनले जानकारी दिइन् ।रासस

Logo