बेलायतमा कोरोनाको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई

बेलायतमा कोरोनाको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई


बेलायत ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन् ।

उनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिएका हुन् । साथै उनले भनेका छन् कि अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नु पर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनु पर्ने हुन सक्छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ । सो विभागले केही हप्ता यताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ । सो मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ । यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो ।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो ।

बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो ।

तर कतिपयले भने गत महिना मात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो सङ्क्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए ।

प्रधानमन्त्री जोन्सनले भनेका छन् , यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनु पर्ने हुन सक्छ । तर बेलायतले कस्तो प्रकारको प्रतिबन्ध लगाउन सक्छ भन्ने बारेमा भने केही बताएका छैनन्।

Logo