कोरोना बीमा दावी भुक्तानी एकद्वार प्रणालीबाट

कोरोना बीमा दावी भुक्तानी एकद्वार प्रणालीबाट


काठमाडौं ।

अब कोरोना बीमा सम्बन्धी दावी भुक्तानी एकद्वार प्रणालीबाट हुने भएको छ । बीमा समितिले संशोधित कोरोना बीमा मापदण्ड २०७७ लागू गर्दै यस्तो व्यवस्था गरेको छ । समितिले संशोधन गरेको सो मापदण्ड अनुसार भदौं २९ गतेदेखि यताका कोरोना बीमा सम्बन्धी दावी भुक्तानी एकद्वार प्रणालीबाट हुने भएको हो । यो प्रक्रियालाई समितिले अन्तिम चरणमा पु¥याएको छ । समितिले कोरोना बीमा बापतको दावी भुक्तानी दोहोरिन नदिन र छिटो र सरल बनाउन एकद्वार प्रणालीबाट लागू गरेको हो ।

हालको भुक्तानी प्रणाली झन्झटिलो तथा फाइल ओसार पसारमा ढिलाई भएको भन्दै बीमा कम्पनीहरुले गुनासो गरेपछि समितिले एकद्वार प्रणालीमार्फत भुक्तानी गर्ने प्रणाली लागू गर्न लागेको हो । अहिले कोरोना बीमाको दावी भुक्तानी गर्न पुलमा फाइल पठाएर प्रमाणित गर्नुपर्ने व्यवस्था छ । समितिका अनुसार आगामी आइतबारसम्ममा कोरोना बीमाको दावी भुक्तानी एकद्वार प्रणालीमार्फत भुक्तानी गर्न निर्देशिका आउने भएको छ ।

अहिले कोरोना बीमाको दावी भुक्तानीका लागि कयौँ मानिस पाइपलाईनमा छन् । राष्ट्रिय बीमा कम्पनीमा मात्रै ६०० भन्दा बढि दावी परेको छ । कोरोना बीमा मापदण्डमा सबै कागजात पूरा गरेको ७ दिनभित्रमा दावी भुक्तानी गर्नुपर्ने उल्लेख छ । झण्डै एक महिनादेखि बीमितले रकम पाउन सकेका छैनन् ।

अहिले भदौ २९ गते यताका कोरोना बीमा बापतको दावी भुक्तानी प्रक्रिया रोकिएको छ । समितिले जारी गरेको मापदण्डमा बीमा पुलमार्फत एकद्वार नीति अन्तर्गत दावी भुक्तानी गर्ने व्यवस्था गरेसँगै तत्कालका लागि रोकिएको छ । २८ गतेसम्मको भुक्तानी भने भइरहेको छ ।

Logo