सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृतकको सङ्ख्या १२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृतकको सङ्ख्या १२ पुग्यो


कैलाली ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४ जना थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् । कोभिड-१९ बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका-५ का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, अछाम, डोटी, र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित छ हजार ५२८ जना पुगेका छन् । कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् ।

यसै बीच बैतडी जिल्ला अस्पतालमा आजबाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रयोगशालाको शुभारम्भ गरेका थिए।

Logo