आजदेखि लामो तथा मध्यम दूरीका सवारी सञ्चालनमा

आजदेखि लामो तथा मध्यम दूरीका सवारी सञ्चालनमा


होटल तथा रेष्टुरेण्डहरु पनि अर्को आदेश जारी नहुँदासम्म खोल्न पाइने

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँग सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द भएका थिए । लकडाउन खुकुलो भएसँगै छोटो दूरीका सवारी सञ्चालनमा आएपनि लामो दूरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सवारी सञ्चालन गर्न पाइने छ । आज विश्वकर्मा पूजाको अवशरमा पूजा सकेर गाडीहरु चल्न सुरु भएको व्यवसायीहरुले बताएका छन् ।

यातायात सञ्चालन गर्दा विगतमाभन्दा कम अर्थात कूल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइने छ । यद्यपी साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै, यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिंङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै, लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ । उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर विजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोर विजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन् ।

त्यस्तै होटल तथा रेष्टुरेण्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ । यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ । तर सैलुन तथा ब्युटीपार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । साथै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध ¥याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।

Logo