‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिनेछ’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिनेछ’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)


काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सूचारु हुने बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकबाट असोज ५ गतेदेखि आन्तरिक उडान सूचारु गर्ने निर्णय भइसकेको मन्त्री भट्टराईले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्माण सम्पन्न भएका विभिन्न चारवटा आयोजनाको उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले असोज ५ गतेदेखि आन्तरिक उडान सूचारु गर्ने निर्णय भइसकेको बताएका हुन् ।

उनले कोभिड १९ संक्रमणको अवस्थामा पनि विमानस्थलका कर्मचारी र निर्माण कम्पनीहरुले निरन्तर काम गरेकाले आयोजनाहरु समयमै सम्पन्न गर्न सम्भव भएको बताए । अन्तर्राष्ट्रिय उडान पनि विस्तारै पुरानै लयमा फर्किने समेत बताए। पर्यटकहरु नेपाल ल्याउने, नेपाली नागरिकलाई ल्याउने र विभिन्न आयोजनामा काम गर्ने प्राविधिक कर्मचारीलाई ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि उडानहरुलाई विस्तारै पुरानै लयमा फर्काउन आवश्यक रहेको मन्त्री भट्टराईको भनाई छ ।

भिडियो :

 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देशको ऐना समेत भएकाले बिमानस्थल भित्रका संरचनाहरुलाई सुधार गरिएको मन्त्री भट्टराईले बताए। विज्ञान र प्रविधिले विकास गरेका चिजहरुलाई लागू गरी विमानस्थलको क्षमता बढाउँदै लैजाने पनि भट्टराईले बताए। अहिले विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको र पार्किङ क्षेत्र समेत थपिएकाले अबदेखि कुनै पनि जाहाज अवतरण र उडान गर्नका लागि होल्ड हुनुपर्ने अवस्थाको अन्त्य भएको समेत बताए । मन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिने बताए। निकट भविश्यमा ठूलो संख्यामा जहाज पार्किङ गर्ने र सहजै जहाजको उडान तथा अवतरण गर्ने गरी गुरुयोजना तयार पारिसकेको समेत उनले बताए । विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङस्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

Logo