वामदेव गौतमको राष्ट्रिय सभामा जाने बाटो खुल्योदेखि ह्वातै बढ्यो प्याजको मूल्यसम्म (भिडियोसहित)

वामदेव गौतमको राष्ट्रिय सभामा जाने बाटो खुल्योदेखि ह्वातै बढ्यो प्याजको मूल्यसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा जाने बाटो खुलेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेसँगै उनको राष्ट्रिय सभामा जाने बाटो खुलेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गर्ने प्रस्ताव गरेका थिए ।

त्यस्तै व्यवसायीहरुले कोभिड–१९ का कारण केरुङ नाकामा १ हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढी पहिरोले ठूलो धनजनको क्षति भएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने ४१ जना अझै बेपत्ता छन् ।

त्यस्तैगरी इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुआत गरेको छ । खेलाडी सरुवा बजारमा ठुलो रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो । मंगलबार बिहान ब्राइटलनको घरेलु मैदानमा चेल्सीले ३–१ को सहज जित निकालेको थियो ।

छिमेकी मुलुक भारतमा प्याजको भाउ बढ्दै गएपछि त्यसको असर नेपाली बजारमा परेको छ । प्याजको मूल्य बढेपछि भारतले सोमबार सूचना प्रकाशित गर्दै निकासीमा रोक लगाएको छ । भारतले रोक लगाएसँगै मंगलबार नेपाली बजारमा १५ देखि २० रुपैयाँ प्रतिकेजी प्याजको मूल्य बढेको हो । मंगलबार कालीमाटी तरकारी बजारमै प्याजको भाउ बढेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo