प्राधिकरणबाट औपचारिक रुपमै बाहिरिए, कुलमान घिसिङ

प्राधिकरणबाट औपचारिक रुपमै बाहिरिए, कुलमान घिसिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी आज विदा भएका छन् । मंगलबार प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै प्राधिकरणका कर्मचारीले कुलमानलाई पुनः कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा आउनु पर्ने बताएका थिए । कार्यक्रमा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहार दिएका थिए । प्राधिकरण स्रोतकाअनुसार कर्मचारीकातर्फबाट आज औपचारिक रूपमा घिसिङलाई बिदाइ गरिएको हो ।

उनको चार वर्षे कार्यकाल सोमबार पूरा भएको थियो । कार्यकाल सकिएकाले कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठे पनि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयबाट उनलाई पुन नियुक्त गर्ने प्रस्ताव नै गएको थिएन । सरकारले उनलाई पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला कार्यक्रममा बोल्दै घिसिङले एउटै व्यक्ति एउटै जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताएका थिए । उनले बिदाइ कार्यक्रममा बोल्दै भनेका छन्–‘कार्यकारी निर्देशक आउने जाने हुन्छ । एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन । अगामी दिनमा प्राधिकरणको लक्ष्य सुन्दर हुनुपर्छ । आउने जाने त भइनै रहन्छ ।’

घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । घिसिङ कार्यकारी निर्देशकमा नियुक्ति भए पश्चात् १८ घण्टासम्म हुने लोडसेडिङ सधैका लागि अन्त्य भएको छ । उनले बिदाइ कार्यक्रममा बोल्दै थपे–‘लोडसेडिङका कारण मुलुक कहालिलाग्दो अन्धकारमा आकान्त थियो । प्राधिकरण घाटामा थियो भने ६३ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा थिए । मलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्दा अध्यारो युगलाई उज्यालो बनाउने जिम्मेवारी दिएको थियो । जुन मैले पूरा गरे ।’

घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने बारेमा अझै अन्योलता छाएको छ । अहिले कुलमानको पुनः नियुक्तिको लागि सामाजिक अभियानतादेखि कलाकारहरुले अभियान नै चलाउन थालेका छन् । केही कलाकारहरुले प्रत्येक दिन राति ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ति निभाएर सरकारलाई नियुक्तिको लागि दबाव दिन आह्वान गरेका छन् ।

यता आज साँझ माइतीघर मण्डलामा पनि युवाहरुले कुलमान घिसिङलाई पुनः नियुक्त गर्न मैनबत्ति बालेर कुलमानको पक्षमा सडकमा आउँदै छन् ।

Logo