दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण


बुटवल ।

बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नु पर्ने विभिन्न खालका दीर्घरोगका बिरामीको सोमबारदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताए ।

यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनु पर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

यस खालका बिरामीको स्वाब सङ्कलनका लागि नगरका वार्ड नं. ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वार्ड नं. १४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ ।

उपमहानगरपालिकामा यस खालका उपचार गराइरहेका दीर्घरोगका बिरामीको यकिन तथ्याङ्क आउन नसके पनि वार्डगत सिफारिसका आधारमा करिब दुई सयको सङ्ख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले बताए ।रासस

Logo