रुपन्देहीमा ९४ मतदान केन्द्र थपिँदै, दाबी विरोधको समयावधि सकियो

रुपन्देहीमा ९४ मतदान केन्द्र थपिँदै, दाबी विरोधको समयावधि सकियो


आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले २०८ मतदान स्थल तोकेको हो । ती मतदान स्थलमा गत चुनावभन्दा ९४ वटा मतदान केन्द्र थपिन लागिएको छ । 

२०७४ सालमा भएको चुनावमा जिल्लामा पाँच लाख ३७ हजार १२१ मतदाता रहेका थिए । यस आर्थिक वर्षदेखि २४ माघसम्म मात्र कार्यालयले ९९ हजार १४४ जनाले  फोटोसहितको मतदाता नामावली संकलनको गरेको थियो । 

कार्यालयले मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत दुई चरणमा जिल्लाका १४ वटा पालिकाबाट ४० हजार १३८ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ भने निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ५९ हजार ६ जनाको नाम दर्ता भएको कार्यालयका कम्प्युटर अपरेटर ९शाखा प्रमुख० विनोद भट्टराईले जानकारी दिए ।

हाल ६ लाख ३४ हजार ७९७ जना मतदाता छन । २०७४ मा भएको चुनावमा पाँच लाख ३७ हजार १२१ मतदाता रहेकामा अगामी चुनावका लागि ९७ हजार ६७६ मतदाता थपिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

अगामी निर्वाचनका लागि २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने छन् ।  मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनु पर्छ । 

यसअघिको प्रदेश एवम प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० वटा मतदान केन्द्र रहेको थियो । मतदाताको संख्या बढेकोले मतदान केन्द्र थपिएको छ ।  

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित १६ वटै पालिकामा निर्वाचन अधिकृत तोकिने प्रक्रियामा छ । सार्वजनिक भएको मतदाताको दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन २०–२६ फागुनसम्म जिल्लाका सबै स्थानीय तहमा पठाएका छौँ, बिहीबार यो समयावधि पनि सकिएकाले हामीले तथ्यांक आयोग पठाउँछौ, आयोगले अन्तिम नामावली पठाउँछ निर्वाचन कार्यालय प्रमुख भण्डारीले भने । 

दाबी विरोधपछिको मतदाता संख्या नै अन्तिम हुनेछ । एउटा मतदान केन्द्रमा करिब पाँच हजार मतदाता संख्या कायम गरिन्छ । सोहीअनुसार मतदान केन्द्रको टुंगो लगाउने कार्य हुने गरेको छ । निर्वाचनलाई लक्षित गरी यसपटक इलेक्ट्रोनिक माध्यमको प्रयोग गरी प्रचारप्रसार गरिने, त्यस्तै इन्टरनेटमा आधारित विद्युतीय माध्यमबाट निर्वाचनबारेमा जनचेनतामूलक र शिक्षामूलक सामग्री प्रसारण र प्रकाशन र सामाजिक सञ्जाललाई बढी जोड दिइनेछ । त्यस्तै मोबाइल, रेडियो, टिभीमार्फत पनि प्रचारप्रसार गरिने कार्यालयले जानकारी दिएको छ । 

रुपन्देही जिल्लामा सबैभन्दा बढी मतदाता बुटवल उपमहानगर पालिकाको वडा नम्बर ११ मा १६ हजार २४८ जना छन् । लुम्बिनी वाणिज्य क्याम्पस मतदान स्थल रहेको उक्त वडामा १६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जनाए । 

यस्तै जिल्लामा सबैभन्दा कम मतदाता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा ९१३ जना छन् । भैरहवा उच्च मावि मतदान स्थल रहेको सो वडाको लागि एकवटा मतदान केन्द्र तोकिएको छ ।
 

Logo