जुम्लामा डा.गोविन्द केसीको १९ औं सत्याग्रह सुरु

जुम्लामा डा.गोविन्द केसीको १९ औं सत्याग्रह सुरु


काठमाडौं ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी पुनः अनशन बसेका छन् । जुम्लाको चन्दननाथ–६ रानीचौरमा रहेको वाविरा मन्दिरमा उनले १९ औं सत्याग्रह सुरु गरेका हुन् । विभिन्न माग राख्दै पटक–पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन् ।

उनले नेपालीहरुको निःशुल्क गुणस्तरिय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध सत्याग्रह गर्ने बताउदै आएकाले हिँडडुल गर्नदेखि उपचार गर्न जान समेत बारम्बार अवरोध हुँदै आएकोले बिना जानकारी जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताएका छन् ।

उनले यो १९ औं सत्याग्रहमा विभिन्न ६ बुँदे माग राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनु पर्ने उनको पहिलो माग रहेको छ । त्यस्तै, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनु पर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग डा. केसीले राखेका छन् ।

त्यस्तै, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नु पर्ने तथा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने माग पनि अगाडि सारेका छन ।

त्यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनु पर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् । उनले १६ औं सत्याग्रह पनि जुम्लामा नै गरेका थिए । पहिलेको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको डा. केसीले बताएका छन् ।

यस अगाडि भदौ १३ गते प्रहरीले डा. गोविन्द केसीलाई उनी बसेकै होटलमा नियन्त्रणमा राखेको थियो । डा. केसी साउनदेखि जुम्लाका दुर्गम बस्तीमा निःशुल्क उपचार गर्दै हिँडेका थिए । डा. केसीले यस अगाडि आफूले माग पूरा गर्न सरकारलाई पटक–पटक अल्टिमेटम दिदै साउन ११ गतेबाटै सत्याग्रहमा बस्ने बताएका थिए । तर देशभर कोरोना महामारीको संकट बढ्दै गएकाले सत्याग्रहको समय पछि सारेका थिए ।

त्यस्तै, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीद लगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानविन गरी कानुन बमोजिम कारबाही गर्न केसीले माग गरेका छन् ।

डा. केसी दुई वर्ष अघि जुम्लामै अनशन बसेका थिए । त्यसबेला उनको अनशन तोड्दै सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबीबीएस र डिग्रीको पढाइ सुरू गर्ने लगायतका सम्झौता गरेको थियो । तर सरकारले सम्झौता पूर्णपालना नगरेपछि डा. केसी पुनः सत्याग्रह बस्ने तयारीमा छन् । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै उनी पटक पटक अनसन बस्दै आएका छन् ।

Skip This
Logo