चोरीका २१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

चोरीका २१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर साेमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन पार्किङ गर्दा बढी हराउने गरेको बताए। “सवारी साधनमा डिक्स लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्नुपर्छ”, उनले भने।

लाखौँ रुपैयाँ तिरेर किनेको सवारी साधनको सुरक्षामा पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। महाशाखाका अनुसार चालकको लापरबाही, सुनसान क्षेत्रमा पार्किङ, सवारी साधनमा ह्वील लक नगर्नाले धेरै सवारी साधन चोरी हुने गरेका छन्।

महाशाखाले दुई महिनाको अवधिमा ८८ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ। महाशाखाले आफ्नो सवारी साधन हराउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लग इन गरेर अनलाइनमार्फत समेत निवेदन दिन सबैलाई आग्रहसमेत गरेको छ। 

Logo