दशैंमा नयाँ नोट साटिन्छ कि साटिँदैन ? यसो भन्छ राष्ट्र बैंक

दशैंमा नयाँ नोट साटिन्छ कि साटिँदैन ? यसो भन्छ राष्ट्र बैंक


काठमाडौं ।

यसपाली हिन्दुहरुको महान् चार्ड दशैंका लागि साटिने नयाँ नोट साटिन्छ कि साटिँदैन भन्ने टुंगो छैन । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण नयाँ नोट सटही गर्ने कि नगर्ने भन्ने टुंगो लगाउन सकेको छैन । नयाँ नोट सटही गर्दा धेरै भीडभाड हुने गर्छ । संक्रमण बढिरहेका बेला नयाँ नोट सटही गर्दा झन संक्रमण बढ्ने हो कि भन्ने आशंकाका कारण राष्ट्र बैंकले नयाँ नोट सटहीबारे अझै टुंगो लगाउन नसकेको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले कोरोनाका कारण नयाँ नोट सटही प्रभावित हुन सक्ने बताए । ‘कोरोना भाइरसका कारण नयाँ नोट सटहीबारे टुंगो लगाउन सकेका छैनौ ।’ कार्यकारी निर्देशक नेपालले भने । संक्रमणको प्रभाव हेरेर असोज १५ गतेसम्म नयाँ नोट सटही बारे निर्णय गरिने उनले बताए । यसपालीको दशैं कार्तिक महिनामा परेको छ ।

राष्ट्र बैंकले हरेक वर्षको दशैंमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको छ । तर यसपालीको दशैंमा नयाँ नोट साट्न पाइन्छ कि पाँइदैन भन्ने टुंगो छैन । राष्ट्र बैंकले आश्यकता अनुसार नयाँ नोटको निष्काशन गरिरहने गर्छ । साथै आश्यकता अनुसार बजारमा पठाउने गर्छ । अरु समयका तुलनामा दशैंमा नयाँ नोटको माग केही बढी नै हुने गर्छ । राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट तयारी अवस्थामा राखेको छ । साट्न पाउने निर्णय भएसँगै विवरण गरिने जनाएको छ । राष्ट्र बैंकले गत वर्षबाटै दशैं बाहेक अन्य राष्ट्रिय चार्डहरु जस्तै, तिहार, नयाँ वर्ष, जनै पूर्णिमा, फागु पूर्णिमा, ल्होछार लगायतका चार्डहरुमा पनि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको छ । गत वर्षको दशैंमा राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट सटही गरेको थियो ।

प्रतिव्यक्ति कति पाउँछन् नयाँ नोट ?

विगतमा राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० एक–एक बण्डलका दरले १८ हजार ५ सय रुपैयाँसम्म वितरण गर्दै आएको छ । त्यसभन्दा बढी आश्यकता परे कारण खुलाएर राष्ट्र बैंकसँग माग गरे प्राप्त गर्न सकिन्छ । राष्ट्र बैंकले हरेक वर्षको दशैंमा आफू अन्र्तगतको मुद्रा व्यवस्थापन विभाग थापाथली , नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुर लगायतका शाखा कार्यालयबाट नोट साट्ने व्यवस्था मिलाउँदै आएको छ । काठमाडौंमा राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट तथा केही नीजि बैंकहरुले पनि नयाँ नोट सटही गर्दै आएका छन् ।

नयाँ नोटको सुरक्षा कसरी गर्ने ?

दशैंतिहार लगायतका चार्डपर्व तथा पूजाआजामा नोटको प्रयोग गरिन्छ । पूजा आजामा रातो रंग तथा अक्षता प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध तथा पानीले नोट भिज्ने हुँदा नोट फोहोर र झुत्रो हुन्छन् । चार्डपर्वमा चलनचल्तीमा आएका नोट फोहोर र झुत्रो भएर फर्किने भएकाले यसबाट राष्ट्रलाई ठूलो मर्का पर्ने गर्छ । त्यसैले यस्ता चार्डपर्वमा नयाँ नोट प्रयोग गर्दा विशेष सतर्कता अपनाउनु पर्छ ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट सुरक्षाका लागि पर्समा नोट मिलाएर राख्ने, जता पायो त्यहाँ नोट नराख्ने, नोटमा रंग नलगाउने तथा दक्षिणा दिँदा खाममा हालेर दिनु पर्छ । त्यस्तै, मन्दिरमा चढाउँदा सुख्खा नोट मात्रै चढाउने गर्नु पर्छ । कतिपय महिलाहरुले थैली र पटुकामा पनि नोट राख्ने भएकाले त्यसो नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

कति हुन्छ नोटको आयु ?

राष्ट्र बैंकका अनुसार नेपाली नोटहरुको सरदर आयु २ देखि साढे ३ वर्ष मात्रै हुन्छ । जतनपूर्वक चलायो भने केही बढी वर्ष चल्न पनि सक्छ । नगदको कारोबार बढी हुँदा नोटको आयु घटेको तथा कारोबार असुरक्षित भएको भन्दै राष्ट्र बैंकले नोटको प्रचलन घटाउने नीति लिँदै आएको छ ।

यसरी गरिन्छ नोटको डिजाइन

नयाँ नोटको डिजाइन गर्दा नेपाल राष्ट्र बैंकका गर्भनर, डेपूटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकार लगायतको नोट डिजाइन समिति बनेको हुन्छ । त्यसमा संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रबद्र्धन गर्ने, वन्यजन्तु विज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने भन्ने सुझाव दिन्छन् । उनीहरुको सुझावको आधारमा नयाँ नोटमा कस्ता चित्र, नम्बर तथा आकार राख्ने निर्णय गरिन्छ । त्यसपछि मात्रै राष्ट्र बैंकले गभर्नरको हस्ताक्षरसहित नोटको डिजाइन गर्छ । त्यसपछि राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराएपछि मन्त्रिपरिषदमा नोटको डिजाइन र डिनोमेशन स्वीकृतिका लागि पठाइन्छ ।

कहाँ छापिन्छन् नयाँ नोट ?

नयाँ नोटहरु नेपालमै छाप्ने व्यवस्था छैन । नोट छपाइका लागि राष्ट्र बैंकले विभिन्न मुलकहरुमा पठाउने गर्छ । राष्ट्र बैंकले चीन, नेदरल्याण्ड, फ्रान्स, जर्मनी, स्वीडेन, क्यानडा, बेलायत, रसिया, इन्डोनेशिया लगायतका विभिन्न मुलुकहरुमा पठाउने गर्छ । । नोटको डिजाइन सकेर स्वीकृति भएपछि राष्ट्र बैंकले विभिन्न मुलुकसँग टेण्डर आह्वान गर्छ र नोट सटहीका लागि सबैभन्दा गुणस्तरिय र सस्तो दरमा छाप्ने कम्पनी छानेर नोट सटही गर्न दिन्छ ।

झुत्रा नोट के गरिन्छ ?

सर्वसाधारणले जतनपूर्वक नोट नचलाउँदा हरेक दिन जसो नोटको आयु घट्दै गएको देखिएको छ । जसका कारण नयाँ नोटको सुरक्षाका लागि राष्ट्र बैंकले सफा नोटको नीति लिँदै आएको छ । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइसकेको छ । जस अनुसार चलन चल्तीमा पठाउन नमिल्ने पूराना तथा झुत्रा छानेर बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकमा पठाउने गर्छन् । त्यस्ता पूराना तथा झुत्रा प्रयोग गर्न नमिल्ने नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट गर्ने गर्छ । अहिले बजारमा ५ खर्व ९२ अर्व नोट चल्तीमा छन् ।

Logo