शान्ति र समृद्धिका लागि आध्यात्मिक बौद्धिकता

शान्ति र समृद्धिका लागि आध्यात्मिक बौद्धिकता


  • सञ्जय गजुरेल

आध्यात्मिकताका निकै अर्थहरु छन् । सनातन वैदिक समाजमा यसलाई निकै महत्व दिएको पाईन्छ तर विस्तारै श्रुती र स्‍मृतिको आधारमा यसलाई विभिन्न किसिमले व्याख्याहरु गरिंदै जाँदा यो धार्मिक गतिविधीको रुपमा चिनिन थाल्यो जसलाई देवताको रुपमा अतिमानव वा अलौकिकसँग पहिचान गरियो । अहिलेको आधुनिक समाजमा यो धर्मबाट टाढिंदै गएको छ र यसले भौतिकवाद भन्दा जीवनको गहिरो अर्थ, मान्यताहरु र आध्यात्मिक बौद्धिकतामा जोड गरेको पाईन्छ।

अन्तर्निहित आध्यात्मिक बौद्धिकता, बाह्य पहिचान र स्‍मृतिसँग गाँसिएको शारीरिक बौद्धिकता आदि बौद्धिकताका भिन्नाभिन्नै पाटाहरु हुन् । भौतिक बौद्धिकताका आधारमा भएको अहिलेको विकास लचिलो र दिगो देखिंदैन जुन कुरा अहिलेको कोभिड १९ को महामारी र यसका आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य (शारीरिक र मानसिक) क्षेत्रहरुमा परेको असरले पुष्टि गरेको छ। त्यसैले दिगो र समावेशी प्रणालीको लागि आध्यात्मिक बौद्धिकतालाई पनि महसुस गर्नु जरुरी देखिन्छ।

मानव समाज जसरी भौतिक लाभको पछी परिरहेको छ त्यसरी नै आध्यात्मिक बौद्धिक आयामहरु झनझन ओझलमा पार्दै गएका छन् । तर मानसिक तनाब र अब्यवस्थाका कारण पीडित भैरहेको वर्तमान अवस्थामा बैज्ञानिक अनुसन्धानहरुले आध्यात्मिक बौधिक आयामको महत्वलाई जोड गर्दै गरेको देखिन्छ।

आध्यात्मिक अभ्यासहरु जस्तै ध्यान र योगले जीवनशैली, खाना, श्वासप्रश्वासमा जोड दिन्छ । वैज्ञानिक अनुसन्धानहरुले स्वास्थ्यको पूर्वाधारको रुपमा पनि यिनीहरुलाई पुष्टि गरेका छन् ।

दिगो आध्यात्मिक अभ्यासबाट शरीर, बिचार, भावना र शक्तिहरुलाई सन्तुलित राखी मानसिक तनाब, असन्तुलन र धेरै किसिमका रोगहरुलाई रोक्न वा निको पार्न पनि सकिन्छ।

यस्तो अभ्यासले रोग लाग्दा निको पार्ने भन्दा पनि शरिरको आफ्नो प्रतिरोधात्मक शक्ति बढाएर सर्बप्रथम रोग लाग्नै नदिने कुरामा बढी जोड दिन्छ अनि रोगको तत्काल उपचार भन्दा पनि यसको मूल कारण पत्ता लगाएर प्रकृति र शरिरको आफैं रोग निको पार्न सक्ने शक्त्तीलाई समेटेर समग्र उपचारमा जोड दिन्छ ।

एउटा उदाहरणका लागि यसले टाउको दुखेको उपचारमा पानीको कमी भएको हुन सक्ने कुरा निर्क्योल गर्न खोज्छ र सकेसम्म क्षणिक टाउको दुखेको निको पार्ने तर पछी बिषाक्त हुन सक्ने औषधीलाई हतोत्साह गर्छ। यी अभ्यासहरु विश्व स्वास्थ्य संगठनको विश्वव्यापी कार्य योजनामा मात्र होइन पश्चिमी मुलुकका अस्पातलहरुमा पनि एकिकृत उपचारको रुपमा एलोपेथी उपचारमा समाबेश गरिएका छन्

आध्यात्मिक अभ्यासहरुले मनमा सधैं उठिरहने बिचार र भावनाहरुप्रति कुनै पूर्वाग्रह नगरि अझ सचेत हुन सिकाउँछ जसको फलस्वरुप हामी सार्थक रचनात्मक प्रतिक्रिया दिन सक्छौं । यसले हामीलाई जीवनमा आइपर्ने आपत्तीहरुलाई शान्त भएर सामना गर्न सिकाउँछ र आफूप्रति आफ्नो पूरा नियन्त्रणलाई अवगत गराई मानसिक तनावको प्रतिरोध गर्ने क्षमता बढाउँछ ।

शारीरिक पहिचानबाट माथि उठाएर यसले हामीलाई समवेशी पनि बनाउँछ जसले गर्दा अन्तर्निहित मानवीय सम्वेदना जागरण हुन्छ । जगतका प्राणीहरु मानव सेवाका लागि नभई हामी यसका एउटा सानो पात्र मात्र हौं भन्ने सचेतता पनि ल्याउँछ र बातावरण बिनाशलाई रोकी जीवकल्याणका लागि हामीलाई प्रेरित गर्छ । यसरी आध्यात्मिक बौधिक क्षमताको बोध गरी आनन्दित अवस्थामा पनि पुग्न सकिन्छ जसबाट अथाह स्वतन्त्रताको महशुस गर्न सकिन्छ । यो बुद्धत्व प्राप्त गर्ने अनुभव गर्ने मार्ग पनि हो।

आध्यात्मिक अभ्यासका निम्ती नियमित रुपमा छोटो समय छुट्याउन सकेको खण्डमा पनि शारीरिक र मानसिक स्वास्थ्यमा निकै सुधार ल्याउन सकिन्छ । उदाहरणका लागि, हामीले इलेक्ट्रोनिक उपकरणहरुमा ध्यान बिचलित नगरि खाना र खाना खाने गतिविधिमा आफूलाई समाबेश गर्दा “ध्यान केन्द्रीत खुवाई” अभ्यास गरेको मानिन्छः हिंडेको गतिबिधिलाई ध्यानाकर्षण गर्दा ध्यान केन्द्रीत हिडाईं गर्छौं, बसेर काम गरेकाहरुले बेलाबेलामा पानी खाने र शौचालय जाने समयमा जिउ तन्काउने योग गर्दा हामीले योग गरिरहेका हुन्छौं। यस्तो यौगिक शील्पबिज्ञानले शारीरीक, मानसिक, भावनात्मक आयामहरुलाई सन्तुलनमा राख्छ ।

भौतिक बौद्धिकता ज्ञानेन्द्रीयहरुबाट लिएका सूचनामा निर्भर छ। त्यसैले यो परिवार, समाज, कुल, जाती, धर्म, लिङ्ग र देशमा आधारित छ

जसबाट पूर्ण सत्यताको बोध असम्भव छ । यही अपरिपक्क यथार्थलाई अम्मल गर्दा अहिलेको हाइटेक युगमा पनि हामी मुटु छुने असमानता, गरिबी, युद्ध, हिंसा र बिपत्तीको सामना गरिरहेका छौं।

भौतिक बौद्धिकताको आधारमा गठन भएको समाज, जसमा के गरिब परिवारमा जन्मनु बच्चाको दोष हो भन्ने साधारण प्रश्नको तार्किक जवाफ छैन, यहाँ अधिकांश मानिसहरुलाई ज्युँन पनि मुस्किल भईरहेको छ जबकी तल्लोस्तर मानिएका जनावरहरु मानव अतिक्रमणरहित प्राकृतिक बातावरण पाएको खण्डमा आरामले बाँच्न सक्छन् । त्यसैले दिगो र बातावरण असर नगर्ने आविस्कारहरु हुनका लागि आध्यात्मिक बौद्धिकताको महत्व छ जसले नयाँ पिंढीहरुलाई सम्पत्ती जम्मा गर्नु पर्ने जरुरतलाई बेवास्ता गरी समावेशीतालाई अपनाएर जगतमा सदगुण सचेतताको चक्र सुरु गर्छ।

जीवन जसले अजीवीत कुरालाई जीवीत कोश बनाउन सक्छ, त्यस्तो शक्तिको बोध भएको खण्डमा भौतिक बौद्धिकतामा आधारित नैतिकता र दर्शनको कुनै आवश्यकता पर्दैन। साँच्चै भन्ने हो भने यस्ता दर्शन र शिक्षाहरु मानव लचकता, सम्भावना र स्वतन्त्रताका तगारा भएका छन् । त्यसैले भविष्यमा दिगो विकासका लागि शैक्षिक रुपान्तरण निकै जरुरी छ । जुन पक्षपाती समाजमा हामी हुर्केका छौं, बच्चाहरुलाई शिक्षा दिने अवस्थामा हामी छैनौं । यस्तो स्थितिमा उनीहरुमा आफ्नो बिचार लाद्नु भन्दा आफैं अनुसन्धान गर्ने र आफूले चाहेको कुरा गर्ने स्वतन्त्रता दिन सके पनि ठूलो कुरा हो।

सारांशमा भन्नु पर्दा आध्यात्मिक अभ्यासले हामीलाई बितेको र आउने क्षणहरु भन्दा अहिलेको क्षणमा बाँच्न सिकाउँछ ।

यसले अहिलेको क्षणमा असान्दर्भिक लाग्ने पुराना पीडाहरु र भविष्यका डरहरुलाई मनमा खेल्न दिंदैन र आफ्नो रक्षाको लागि भनी बनाएको बनावटी पर्खाललाई तोडेर स्वतन्त्र जीवन बिताउन सहयोग गर्छ । आध्यात्मिक अभ्यासहरु भित्री शान्ती र सुस्वास्थको लागि उपयोगी छ भन्ने अनुसन्धानबाट पनि पत्ता लागेको छ र अझै यसमा पूर्णतः अनुसन्धान भैरहेको छ । एकिकृत उपचारको रुपमा यसले एलोपेथीक उपचारमा पनि निकै ठूलो टेवा पुर्याएको छ। यस्तो अभ्यासबाट हाम्रो अन्तर्निहित संवेदना र समाबेशीता सकृय भई साझा स्रोतहरुको सही रुपमा सदुपयोग भई अहिले बिद्यामान संसारिक चुनौतीहरु गरिबी, शोषण, बातावरण प्रदुषण, बिनाश र परिवर्तन, अनी कोभिड १९ जस्ता रोगहरुको सामना गर्न सकिन्छ।

(लेखकले अमेरिकाको केश वेष्टर्न रिजर्भ विश्वविद्यालयबाट सन् २००८ मा पिएचडी गरेका हुन् । हाल उनी सोही विश्वविद्यालयमा कम्प्युटेसनल बैज्ञानिक र सहायक प्राध्यापकको रुपमा कार्यरत छन् ।)

Logo