पीएनजीद्वारा नेपालसामु २०५ रनको लक्ष्य

पीएनजीद्वारा नेपालसामु २०५ रनको लक्ष्य


आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलमा पपुवा न्युगिनी पीएनजीले नेपाल सामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यूएईको सारजाहमा टस जितेर पहिला व्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २०४ रनको योगफल तयार पारेको हो ।

९१ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै मध्यक्रममा व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि पीएनजी सम्मानजनक योगफल तयार पार्न सफल भयो । उसका लागि चाल्स अमिनीले ५९ र चाद सोपरले ३५ रन बनाए । टोनी उराले २७, लेगा सिकाले २५ र नोर्मान भानुआले २३ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्ले एक एक विकेट लिए । ८ ओभर बलिङ गरेका करण केसीले ५६ रन दिएपनि विकेट भने लिन सकेनन् । सन्दीपले पीएनजीविरुद्धको खेलमा आफुसहित ७ जनालाई बलिङ गराएका हुन् । 

नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । 

नेपालको ८ खेलबाट ८ अंक छ भने १३ खेल खेलेको पीएनजीले खाता खोल्न सकेको छैन ।

Logo