देशभरका ५,१३५ सुरक्षाकर्मी कोरोना सङ्क्रमित, सबैभन्दा बढी नेपाल प्रहरी

देशभरका ५,१३५ सुरक्षाकर्मी कोरोना सङ्क्रमित, सबैभन्दा बढी नेपाल प्रहरी


काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आइतबार बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ ।

उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका एक जवान गन्तव्यतर्फ जाँदै गरेको तस्बिर सार्वजनिक भयो । गम्भीर घाइते महिलालाई मजेत्रोको नाम्लो बनाएर बोकेको कारुणिक तर सराहनीय दृश्य त्यसमा देख्न सकिन्छ ।

सुरक्षाकर्मी र बिरामीले कोभिड–१९ बाट जोगिनका लागि चाहिने आवश्यक सुरक्षा मापदण्ड प्रयोग गर्न सकेको देखिँदैन । आपत्कालीन अवस्थामा एक त त्यस्ता सामग्री पाउन सकिँदैन, पाइए पनि प्रयोग गर्ने अवस्था नहुन सक्छ । आपत्विपतमा परेका व्यक्तिको जीउ जोगाउनु पर्ने गम्भीर अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भने यो एउटा उदाहरण हो ।

“जिम्मेवारी पूरा गर्ने क्रममा परिस्थितिले कुनै बेला केही अफ्ठ्यारो गराउन सक्छ तर स्वास्थ्य मापदण्ड पूरा गर्नेमा स्पष्ट निर्देशन छ”, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल भने ।

यस्तै घटना विगतमा पनि नभएको होइन । काठमाडौँमै भएको सडक आन्दोलन होस् या क्वारेन्टिनमा बसेका व्यक्ति ह्वारह्वार्ती निस्कँदा सुरक्षाकर्मीले स्वास्थ्य मापदण्ड प्रयोग गर्न नसकेका दृष्टान्त छन् जुन अधिकांशतः सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । केही अघि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न लाग्दा भीड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भएको थियो ।

ज्यानको बाजी थापेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी यस्तै आपतविपतका बेला कोभिड–१९ बाट सङ्क्रमित हुन पुगेका हुन् । कतिपय अवस्थामा सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि सङ्क्रमण हुन्छ । सुरक्षा मापदण्ड अपनाएर उपचारमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनुले त्यस कुरा प्रस्ट्याउँछ ।

कार्यक्षेत्रमा खटिएकै बेला सङ्क्रमित भई उपचारपछि निको भएर पुनः सेवामा खटिएका प्रहरी उपरीक्षक विमलराज कँडेल जस्तोसुकै परिस्थिति आए पनि सुरक्षाकर्मी राज्यले दिएको जिम्मेवारीबाट विमुख हुन नहुने बताउँछन् । उच्च आत्मबल भयो भने कोरोनालाई जित्न सकिने दृढ विश्वास सुरक्षाकर्मीमा छ । त्यसैले अहिलेसम्म धेरै सुरक्षाकर्मी कोरोना जितेर काममा फर्किइसकेका छन् ।

पछिल्लो समयमा मुलुकभर सङ्क्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि दर बढ्दो छ । नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरण अनुसार आजसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड–१९ देखिसकेको छ । त्यसमध्ये दुई हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन् । निको भएकामा उच्च मनोबल देखिएकाले अन्य प्रहरी कर्मचारीलाई समेत हौसला मिलेको नेपाल प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत बताउँछन् ।

गत माघ ९ गते चीनको वुहानबाट आएका एक नेपालीमा कोभिड–१९ देखिएपछि त्यसको रोकथामका लागि सरकारले आवश्यक योजना बनाउन थाल्दा नेपाली सुरक्षाकर्मीले सम्भावित जोखिम आङ्कलन गरेर आन्तरिक तयारी थालेका थिए । मुलुकमा अकस्मात आइ पर्ने महामारी, राष्ट्रिय विपद् होस् या हूलदङ्गा सबै नियन्त्रणको नेतृत्व लिँदै आम–नागरिकलाई सुरक्षाको पूर्ण–प्रत्याभूति दिलाउने जिम्मेवारी सुरक्षा निकायको काँधमा छ । आइपर्ने जोखिम मोल्न तयार भएर यसपालिको कोभिड–१९ विरुद्धको युद्धमा होमिएका सुरक्षाकर्मी यस्तै आपतविपद् र शान्तिसुरक्षामा खटिएकै बेलामा सङ्क्रमण भएका छन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर ७७ वटै जिल्लामा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीमा पछिल्लो समयमा नियमित सङ्क्रमण देखिन थालेको छ । पछिल्लो एक साताको विवरणले सुरक्षा निकायमा सङ्क्रमणको क्रम बढ्दो देखाउँछ । एक सातामै एक हजार ५०० बढी सुरक्षाकर्मी कोरोना सङ्क्रमित भएका छन् । मुलुकभर सङ्क्रमण दरमा बढिरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव सुरक्षा निकायमा प्रस्ट देखिन्छ ।

गत वैशाखबाट सुरक्षा निकायमा सङ्क्रमण देखिएको थियो । जेठको पहिलो सातासम्म १२ सुरक्षाकर्मीमा सङ्क्रमण थियो । नेपाल प्रहरीतर्फ जेठ ३ गते एक प्रहरी जवान पहिलो सङ्क्रमित भए । त्यसपछि सङ्क्रमण दरमा क्रमशः वृद्धि भएकामा साउन ६ गते बन्दाबन्दीको अन्त्यलगत्तै सर्वसाधारणको चहलपहल बढ्दा सङ्क्रमणले गति लिएको जनस्वास्थ्य विज्ञको भनाइ छ ।

सुरक्षा निकायमा देखिएको सङ्क्रमणमध्ये सबैभन्दा बढी नेपाल प्रहरीमा छ । त्यसपछि नेपाली सेनामा बढी देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अधिकांश लक्षणविहीन रहेको र धेरै निको भएर घर फर्किसकेको बताए । उनीहरू उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिएका उनले जानकारी दिए ।

सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमण

हालसम्म चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन् । सर्वसाधारणसँग प्रत्यक्ष साक्षात्कार हुने भएकाले प्रहरी बढी प्रभावित भएका हुन् ।

सार्वजनिक तथ्याङ्क अनुसार नेपाल प्रहरीमा आजसम्म कूल दुई हजार ८१७ मा सङ्क्रमण भएको छ । उनीहरू मध्ये एक हजार २३३ प्रहरी निको भएर कार्यस्थलमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी जोखिम आङ्कलन गरेरै आवश्यक सुरक्षा सावधानीका साथ कार्यक्षेत्रमा खटिँदै आएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

“सङ्क्रमित प्रहरी कर्मचारीमा उच्च मनोबल छ, निको भएर मुलुकको सुरक्षाप्रति थप प्रतिबद्ध हुँदै कार्यस्थलमा खटिएका छन्”, पोखरेलले भने, “जोखिम रोक्ने महत्वपूर्ण भूमिका प्राप्त प्रहरी जिम्मेवारीबाट पन्छिदैन ।” तर सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले शान्तिसुरक्षामा ठाउँठाउँमा खटिनु पर्ने प्रहरीको उपस्थिति न्यून गर्नुपर्ने बाध्यताको सम्भावना देखिएको छ ।

नेपाली सेनाका एक हजार ३०० भन्दा बढी

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार नेपाली सेनामा पछिल्लो एक सातामा सङ्क्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म कूल एक हजार ३८३ मध्ये झण्डै ७०० पछिल्लो एक हप्तामै सङ्क्रमित भएका उनले जानकारी दिए । सबैभन्दा बढी मध्यपूर्वी पृतनामा १८९ जना सङ्क्रमित छन् । उपत्यकामा १८४, मध्यपश्चिम पृतनामा १५४ मा सङ्क्रमण देखिएको छ । सेनाका ५६ स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन् ।

पौडेलका अनुसार सङ्क्रमितमध्ये २९४ निको भएर कार्यक्षेत्रमा खटिएको र बाँकीको उपचार जारी छ । पछिल्लो एक हप्तामै सङ्क्रमणदर एक्कासि बढ्दा निको हुने प्रतिशत कम देखिएको उनले बताए।

सशस्त्र प्रहरीका ९१५ पोजेटिभ

सशस्त्र प्रहरी बल नेपालका ९१५ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये झण्डै ५५ प्रतिशत निको भएका छन् । हाल ४३५ उपचाररत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए। सशस्त्र प्रहरीका अधिकांशमा लक्षण देखिएको छैन । मुख्यगरी सीमा नियन्त्रण, भीडभाड नियन्त्रण, आइसोलेसन व्यवस्थापन, सर्वसाधारणको सुरक्षा, भीडभाड नियन्त्रण, सडक सुरक्षामा बसेका बेला उनीहरू सङ्क्रमित हुन पुगेका अर्याल बताउँछन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने गरिए पनि सङ्क्रमण हुने क्रम भने रोकिएको छैन ।

राष्ट्रिय अनुसन्धानका २० जनामा कोरोना

सरकारका लागि सम्भावित जोखिमको सूचना सङ्कलनमा सादा पोसाकमा खटिने राष्ट्रिय अनुसन्धान विभागका २० जनामा पनि कोरोना देखिएको छ । प्राप्त विवरण अनुसार विभाग अन्तर्गत रहेको उनीहरूमध्ये अहिले ११ जना उपचाररत छन् । प्रदेश २ मा सबैभन्दा बढी नौ जना सङ्क्रमित छन् ।

वाग्मती प्रदेश सात, गण्डकी एक, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेश एक जनामा सङ्क्रमित देखिएको विभागले जनाएको छ । विभागका एक सुरक्षा अधिकारीले कसैलाई पनि लक्षण नदेखिएको र आइसोलेसनमा भएकाबाहेक सबै उच्च मनोबलका साथ काम गरिरहेको उनले जानकारी दिए ।रासस

Logo