चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा


नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण पूरा गरी वाङ विशेष विमानबाट शुक्रबार अपरान्ह काठमाडौं ओर्लिएका हुन् । 

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको नेपाल भ्रमण तेस्रो हो ।
 
वाङ बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछन् । उनको शुक्रबार कुनै औपचारिक कार्यक्रम छैन । 

चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने छन् । त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे समकक्षी खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। 

सिंहदरबारबाट निस्केपछि शनिबार दिउँसो उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

चिनियाँ विदेशमन्त्री वाङले आइतबार विहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । आइतबार नै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली र प्रचण्डसँग नक्सालस्थित होटेल मेरियटमा भेट हुनेछ।

वाङ आइतबार नै स्वदेश फर्कने छन् । 

Logo