सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच जनाको शव निकालियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच जनाको शव निकालियो, ३१ बेपत्ता


सिन्धुपाल्चोक ।

बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। दुई जनाको सनाखत हुन बाँकी छ ।

पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

सभामुख सापकोटा पहिरो स्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा लगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गए ।

उनले वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए। सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उनले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकता अनुसार खर्च गर्न पनि आग्रह गरे । वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकता अनुसार खर्च गरिने जानकारी दिए।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो । त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिए।

Logo