यसकारण उठ्न सक्दैन ‘बाबुराम–उपेन्द्र’ नयाँ गठबन्धन

‘अव सानो–सानो सटरमा बिजनेश चल्दैन ।’ संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीवीचको एकता घोषणा सभामा अध्यक्ष उपेन्द्र यादवले संक्षेपमा यस्तो विश्लेषण सुनाए । उनको विश्लेषण सुनेर धेरैले चित्त बुझाएको पनि देखियो । तर, ठूलो पार्टी बनाउनुले मात्र मुलुकका सम्पूर्ण समस्या हल गर्छ र ? यो प्रश्न भने उनलाई कसैले सोधेनन् । यदि ठूलो पार्टी नै समस्याको समाधान हुने भए त सत्तारुढ पार्टी नेकपा छदैछ नि !

उपेन्द्र र बाबुरामले नेतृत्व गरेको पार्टी किन एक भए ? यस प्रश्नको जवाफ धेरै लामो छैन । यी दुई पार्टी मिलनका केही कारण छन् । कारण दुवै तर्फवाट फरक–फरक पनि छन् । जस्तो उपेन्द्रलाई राष्ट्रिय पार्टीको नेतृत्व गर्नुछ । यसअघि चार बर्षअघि उनले आदिवासी जनजाती क्षेत्रमा प्रवेशकोलागि अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीलाई मिसाइसकेका छन् । त्यो मिसाई खासै फलदायी भने रहेन ।

बाबुराम भट्टराईलाई मिसाएपछि क्षेत्री, बाहुन, बौद्धिक, पढे लेखेका र सहरी मध्यमबर्गलाई आकर्षित गर्न सकिन्छ भन्ने उपेन्द्रको विश्लेषण बुझ्न गाह्रो छैन । अर्को कुरा बाबुरामले क्षेत्री बाहुन्, उपेन्द्रले मधेसी र बरिष्ठ नेता अशोक राईले आदिवासी जनजातीलाई चलायमान गर्न सकेको खण्डमा पार्टी ठूलो हुने उनीहरुको निश्कर्ष रहेको हुनसक्छ । यस्तो निश्कर्ष हो भने त्यसले ‘आकाशको फल, आँखा तरी मर’ भन्ने उखानको स्मरण गराउँछ ।

बाबुराम भट्टराईको भने कुरो अलि फरक छ । उनको नयाँ शक्ति पार्टी राष्ट्रिय पार्टी हुन सकेन । उनी एक्ला बृहस्पती भएर धेरैबेर बस्न सक्ने अवस्था पनि रहेन । कम्यूनिष्ट पार्टी परित्याग गरेको र कांग्रेसले आकर्षित गर्न नसकेको अवस्थामा उनीसँग यसैप्रकारको अर्को पार्टी वा शक्तिमा मिसिनुको बिकल्प थिएन । तत्कालकालागि उनलाई नयाँ पार्टी संजिबनी बुट्टी बराबर भएको छ । ‘मर्नुभन्दा बौलाउनु निको’ भन्ने नेपाली उखानलाई उनको पछिल्लो ‘स्टेप’ ले झण्डै ५० प्रतिशत चरितार्थ गरेको छ ।

साना पार्टी मिलाएर ठूलो वनाउँदा जनविश्वास बढ्न सक्ने संभावना रहन्छ नै । अथवा साना सटरको भन्दा मलतिर मानिसमा आकर्षण बढी होला । यो मानसिकता भनेको अव क्षेत्रीय पार्टी होइन भन्ने संदेश पनि हो । तर, राष्ट्रिय पार्टी हुनका लागि राष्ट्रिय एजेण्डा नै चाहिन्छ । बाबुराम, उपेन्द्र र अशोकको मनमा रहेका एजेण्डा कलेक्सन् गर्दा त्यसले राष्ट्रिय रुप धारण गर्छन् कि गर्दैनन्, ? यसवारेमा सोच्न सक्नुपथ्र्याे ।

नाराहरु निश्चय नै आकर्षणका माध्यम हुन् । जस्तो, समाजवादी पार्टीले उठाउने भनिएको कार्यकारी राष्ट्रपतिको मागमा जनता आकर्षित हुन सक्ने देखिन्छ । अर्को कुरा पूर्व कम्यूनिष्टहरुले प्रवेश गर्न मिल्ने पार्टी पनि हुन सक्छ, यो । त्यसैगरी कम्यूनिष्ट र कांग्रेसको मध्यमार्गमा उभिने ‘स्पेस’ वनाउन सक्छ, समाजवादी पार्टीले । र, आदिवासी र मधेसी जनताको विश्वास जितेर राम्रै शक्ति बन्ने पनि झिनो सम्भावना देखिन्छ । यी सकारात्मक पक्ष हुन् नयाँ पार्टीका ।

कमजोरी पनि छन् समाजवादी पार्टीका । घोषणा सभामा आन्दोलनको आँधिबेहेरी ल्याउने घोषणा भयो । प्रश्न उठ्छ, के जनता आन्दोलनको मानसिकतामा छन् ? यस सम्बन्धमा कतैवाट अनुसन्धान भएको छैन । यस पार्टीका दुवै अध्यक्ष आन्दोलन र क्रान्तिवाट आएको हुनाले उनीहरुमा आन्दोलनको धङधङी हुनु अस्वभाविक पनि होइन । आन्दोलन भन्ने कुरा रहरले होईन बलियो एजेण्डाका साथ गर्नुपर्छ । तर विडम्वना उनीहरुसँग तत्काल त्यस्तो कुनै एजेण्डा देखिदैन । संबिधान संशोधनको मुद्धाले कति महत्व पाउला ? आउँदा दिनले देखाउँदै जानेछ ।

७ लाई बढाएर ११ प्रदेश बनाउनु पर्नेमा समाजवादी पार्टीका दुवै अध्यक्ष सहमत छन् । एकथरी बिश्लेषक भन्छन्, ‘मुलुकलाई ७ प्रदेश नै भारी हुने अवस्थामा छ ।’ यस्तो बेलामा ११ प्रदेशको डम्फु कति बज्ला ? समाजवादी पार्टीको मुल नेतृत्वले सोच्नैपर्ने विषय हो यो पनि ।

नयाँ पार्टीलाई स्थापित गर्ने मुलपक्ष वास्तवमा नै एजेन्डा हुन् । बौद्धिक मानिने बाबुराम भट्टराईले एजेन्डाभन्दा पनि हलुका र ‘ट्रेन्डिङ’ विषय पकडेर हिडेको देख्दा लाग्छ, उनको पनि सोच्ने र बुझ्ने ट्याङ्की खाली भएको छ । जसरी नयाँ शक्ति बनाउँदा उनले पार्टीको औचित्य पुष्टि गर्न सकेका थिएनन् । त्यसैगरी समाजवादी पार्टी घोषणा गरिरहँदा पनि उनले लक्ष्य, उद्धेश्य र एजेण्डा पुष्टि गर्न सकेका छैनन् । दुवै अध्यक्ष हारेको ठाऊँ यही नै हो ।

कम्युनिष्ट र कांग्रेसकालागि धेरै अघिदेखि ‘स्पेस’ तयार भएर बसेको छ । पूर्वपञ्चहरुकालागि साँधुरीदै गएपनि ‘स्पेस’ रहेको स्वीकार्नै पर्छ । अर्को ‘स्पेस’ कुन हो ? कम्युनिष्ट र कांग्रेसको वीचमा पक्कै पनि नयाँ ‘स्पेस’ बनाउन सकिन्छ । यसकालागि गतिला र आकर्षक नाराहरु त चाहिन्छ नै । यदि यस ठाऊँमा ‘स्पेस क्रियट’ भयो भने समाजवादी पार्टी राजनीतिक मैदानमा उभिन सक्छ । होइन भने यसले पनि उही नयाँ शक्तिको झल्को दिने वाहेक अर्को बहादुरी देखाउन सक्ने छैन । उपेन्द्रको ‘मधेस भोट बैंक’ रहुञ्जेल त्यसैको जगमा हल्ला चाहिं गरिरहनसक्छ, समाजवादी पार्टीले ।