पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम

पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम


कैलाली।

कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।

पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिएका छन् । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उनले भने “आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।”

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो ।

आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनु पर्ने भन्दै २०,२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो । समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो ।रासस

Logo