गुणस्तरहिन स्यानिटाइजरको विगविगीदेखि अफगानिस्तानमा जारी हिंसा अन्त्य हुने संकेतसम्म (भिडियोसहित)

गुणस्तरहिन स्यानिटाइजरको विगविगीदेखि अफगानिस्तानमा जारी हिंसा अन्त्य हुने संकेतसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये बजारमा मापदण्ड विपरितका विषाक्त रसायन (मिथानोल) मिसाइएको स्यानिटाइजर फेला परेको छ । काठमाडौँ र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्ड विपरितका रसायन मिसाइएको पाइएको हो । यस किसिमको स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ निकोसेरास्थित निवासमा कुकुरसहित एकै परिवारका तीन जनाको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चार तले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण थप रहस्यमय बनेको हो । हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद टुंगिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दुई अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेसँगै नेकपा विवाद टुंगिएको हो ।

त्यस्तैगरी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय समस्यामा परेका छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न जारी गरिएको लकडाउन तथा निषेधात्राका कारण निर्माण क्षेत्रका इटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरु समस्यामा परेका हुन् ।

अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको जनाइएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo