सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न घोडेजात्रा समारोह हुँदै

सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न घोडेजात्रा समारोह हुँदै


राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिँदैछ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ।
 
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछन्। त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ।
 
नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ। साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ। कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ।
 
उपराष्ट्रपतिलगायत विशिष्ट महानुभाव टुँडिखेल गई सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नेछन्। विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ। गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएको भनिएको छ।
 
घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ। दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ।
  
परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए। 

Logo