बलात्कारको उजुरी गर्दा उल्टै जेल सजाय दिने न्यायाधीशको फैसलामाथि छानविन हुने

बलात्कारको उजुरी गर्दा उल्टै जेल सजाय दिने न्यायाधीशको फैसलामाथि छानविन हुने


अछाममा आफुविरुद्ध बलात्कार भएको भन्दै उजुरी दिने युवतिलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको फैसलाको छानविन हुने भएको छ । आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउन आदेश दिने न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको हो ।

आर्थिक प्रलोभन, सामाजिक दबाब वा मानसिक यातनामा परेर पनि पीडितले बयान फेर्न सक्छन् भन्ने हेक्का नगरी फैसला दिएको र हुँदै नभएको कानुन उद्धृत गरेर सजाय तोकेको भन्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको सो फैसलाको समितिले छानविन गर्न लागेको हो ।

न्यायाधीशको कार्यक्षमता र बदनियतमाथि छानबिन तथा कारबाही गर्ने अधिकार पाएको न्यायपरिषद्ले अछाम प्रकरणबारे सञ्चारमाध्यममार्फत जानकारी पाएपछि बुझ्ने काम भइरहेको जनाएको छ  । बिहेका लागि माग्न आएर घरमै तथा जंगलमा समेत शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँडेको भन्दै अछाम कलमबजारकी १९ वर्षीया किशोरीले रामारोशनका २० वर्षीय युवकविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

गत माघ १५ को घटनामा प्रहरीले अनुसन्धान गरेपछि १० फागुनमा जिल्ला सरकारी वकिल कार्यालयले अछाम जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपालमा विरलै हुने ‘तीव्र गतिको सुनुवाइ’ मार्फत ३३ दिनमै फैसला दिँदै न्यायाधीश जोशीले आरोपितलाई इज्जतपूर्वक सफाइ दिँदै निवेदकलाई साढे तीन वर्ष जेल सजाय तोकेका थिए ।

अपराध संहिताको दफा २१९ अनुसार प्रभावमा पारेर वा झुक्याएर राखेको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणी हो , भनिएको छ । २ कक्षा मात्रै पढेकी किशोरीलाई उनकै घरमा गएर बिहे गर्छु भनेर शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँड्नु भनेको झुक्याउनु हो भनेर मुद्दा दर्ता भएको थियो । तर, प्रहरी र सरकारी वकिलको कार्यालयलाई दिएको बयान फेरेर अदालतमा भने किशोरीले सहमतिमै शारीरिक सम्बन्ध भएको भन्दै बकपत्र दिएकाले उनीमाथि गम्भीर सजाय हुने न्यायाधीशले फैसलामा उल्लेख गरेका छन् ।

 

Logo