बलात्कार उजुरी गर्दा जेल सजायको आदेश पाएकी युवतीमाथि कुटपिट भएको खुलासा

बलात्कार उजुरी गर्दा जेल सजायको आदेश पाएकी युवतीमाथि कुटपिट भएको खुलासा


अछाममा बलात्कार उजुरी गर्दा जेल सजायको आदेश पाएकी युवतिमाथि कुटपिटसमेत भएको खुलेको छ । बयान फेरेको भनेर अछाम जिल्ला अदालतबाट साढे तीन वर्ष कैद सजायको आदेश पाएकी किशोरीलाई आरोपित युवकले यौन शोषण मात्र होइन, कुटपिट पनि गरेको खुलेको हो । 

बिहेका लागि माग्न घरमै आएका बेला किशोरीलाई अब आफ्नै श्रीमती भएको भन्दै शारीरिक सम्बन्ध राखेका युवकले त्यही राति भागौँ भनेर आधा बाटोसम्म हिँडाएको किशोरीको भनाइ छ । राति नै घरबाट निस्केर बीचबाटोको जंगलमा पुगेपछि उसले साथीहरूलाई अगाडि पठाई जंगलमा पनि शारीरिक सम्बन्ध राखेर घर फर्कन भनेको र नमान्दा कुटपिट गरेको किशोरीले बताएकी हुन् । 

जंगलमा पनि शारीरिक सम्बन्ध राखेपछि चरित्रहीन भन्दै बिहे गरेर लैजान नसक्ने भनी दुर्व्यवहार गरेको किशोरीको भनाइ छ । फर्केर घर जान नसक्ने भन्दै सँगै लैजान रोइकराइ गर्दा लात्ती र मुक्का हानेको उनले बताएकी छन् । केटाले बिहे गर्छु भनेर ल्याएपछि आफुले पनि श्रीमान् सम्झेर उसले भनेको मानेको उनले बताइन् । 

तर जंगलमा सम्वन्ध राखेपछि । तेरो चरित्र ठिक होइन भनेर आफुलाई मर्ने गरी कुट्यो उनले भनिन्,  १०÷१२ पटक मुक्का हान्यो । लात्तीले पनि हान्यो । कपाल लुछेर रोडबाट तल उछिट्यायो ।’ मध्यरातमा जंगलमा मानसिक र शारीरिक प्रताडना भोगेकी किशोरीले उजुरी गरेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

समाजको छलफलबाट किशोरीले बयान फेर्ने र आफूलाई थुनामुक्त गर्ने ‘निर्णय’ भएको थाहा पाएपछि ती युवकले कारागारभित्रबाट पटकपटक फोन गरेर श्रीमती भनी ती युवकले आफू बाहिर निस्कनका लागि प्रेमको नाटक गरेको पनि खुलेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका युवकले श्रीमती होस् भन्दै पटकपटक फोन गरेपछि आफूले पत्याएको र अब उनीसँगै बिहे हुन्छ भनेर ढुक्क भएकोले बयान फेरेको किशोरीको भनाइ छ । साथै किशोरीमाथि ज्यादती भएपनि आरोपित जिल्लाभित्रकै भएकाले समाजका भद्र भलादमी बसेर बकपत्र फेर्न किशोरीलाई ‘उर्दी’ दिएको पनि खुलेको छ । उनलाई अहिले मंगलसेनको सुरक्षित आवास गृहमा राखिएको छ ।

कान्तिपुरबाट

Skip This
Logo