श्रीमानको बिहेमा श्रीमती जन्ती, शिक्षिका दुलही फस्नबाट जोगिईन्
File Photo

रौतहट । श्रीमती भित्र्याउनकै लागि विवाह गरिन्छ । जन्त पनि छरछिमेकी, आफन्त, साथीभाई जान्छन् । तर श्रीमानको विवाहमा श्रीमती नै जन्ती । सुन्दा अचम्मै लाग्न सक्छ । तर सिन्धुपाल्चोक मेलम्चीका वीरबहादुर स्याङताङको विवाहमा उनकै श्रीमती र नाबालक छोरा जन्ती गएका छन् । अर्को अचम्मको कुरा त के भने उनले श्रीमतीलाई दिदी र नाबालक छोरालाई भाञ्जा बनाई जन्ती लगेका थिए ।

बिहेको लागि लागि केटीको घर पुगेका बेला स्थानीयलाई शंका लागेर बेहुलासँग केरकार गर्दा उक्त रहस्य पत्ता लागेको हो । घटनापछि केटीले ईलाका प्रहरी चन्द्रनिगाहपुरमा बहुविवाहको निवेदन दिएकी छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका ३५ वर्षका स्याङतानको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन् ।

कसरी हुन पुग्यो यस्तो घटना ?
उनी लामो समय विदेशमा थिए । ४ बर्ष अघि रोजगारीका लागी साउदी अरब गएको बेला चन्द्रपुर १ बागमतिका ३२ वर्षीया एक महिलासँग फेसबुक मार्फत मायापिरती बस्यो । प्रेमालाप बाक्लिदै गएपछि दुवैले विहे गर्ने निर्णय गरे । उनले विवाहित भएको जानकारी गराएका थिएनन् ।

विहेको निर्णय भएपछि उनी हस्याङ(फस्याङ गर्दै तीन महिना अघि बिदा लिएर नेपाल आए । प्रेमीकाबारे घर परिवारलाई जानकारी दिन उनलाई झण्डै एक महिना लाग्यो । श्रीमतीले के भन्ला भन्ने ठुलो त्रास थियो, उनको मनमा । श्रीमती सन्जुलाई आफ्नो प्रेम सम्बन्धबारे जानकारी गराए । श्रीमतीले सहज रुपमा मानिन् ।

घरको श्रीमती राजी भएपछि स्याङतान खुशी भए । गत सोमबार २३ गते बिहेको मिति तय भयो । सामान्य बिबाह गर्ने दुबै पक्ष राजी भए । विवाहका लागी स्याङतान बोलेरो जीप लिएर श्रीमती, नाबालक छोरा, भाञ्जी र दिदिलाई साथमा लिएर रौतहट जन्ती आए । उनले श्रीमतीलाई दिदि र नाबालक छोरालाई भान्जाको साईनो दिएका थिए ।

केटीको घरमा उनी घरीघरी आफ्नै श्रीमतीलाई दिदि र छोरालाई भान्जाबाबु भनेर बोलाउथे । केटा पक्षले चाडै बिबाहको बिधि सम्पन्न गर्न दबाब दिईरहेका थिए । भान्जा बनाईएका छोराले भोज खाईसकेपछि बुवा भनेर बोलाएपछि पोल खुल्यो ।

त्यसपछि स्थानीयले नियन्त्रणमा लिए । सोमबार बिहेको मिति तय भएकोमा उनी मंगलबारमात्र विवाहको लागि दुलहीको घरमा पुगे । उनले बाटोमा गाडी बिग्रिएकाले ढिला भएको प्रतिक्रिया दिएका थिए । त्यसपछिदेखि स्थानीयले निगरानीमा राखेका थिए ।

बेहुली बन्न लागेकी महिलाले आफू ठुलो घटनाबाट जोगिएको बताईन् । केटीको सिन्धुलीमा समेत घर छ । उनी त्यहाँ नीजि श्रोतमा शिक्षिकाको रुपम कार्यरत छिन् । घट्ना लगत्तै ईलाका प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिएको छ । महिलाले बहु विवाहको कसुरमा कारबाहीको लागी प्रहरीमा जाहेरी दिइएकी छन् ।