खोटाङमा कालाजारका बिरामी भेटिए

खोटाङमा कालाजारका बिरामी भेटिए


हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो ।

खोटाङ प्रवेशद्धारका रुपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह-संयोजक प्रकाश घिमिरेले बताए ।

यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन् । 

कालाजार फैलिएको आशंकामा बाहुनीडाँडाको जयराम, कदुवा र झाप्पामा १४ देखि १९ चैतसम्म समुदायमा आधारित अभिमुखीकरण सञ्चालन गरिएको हो ।

साथै दुई सय ४७ जनाको रगत परीक्षण पनि गरिएको थियो । कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

दोश्रो चरणमा कालाजारको बिरामी पत्ता लगाउन जिल्ला अस्पतालसँगको सहकार्यमा बाहुनीडाँडामा रगत परीक्षण गर्ने योजना बनाइएको छ ।

तेश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका र दुधकोसी पारी पर्ने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकासँगको सहकार्यमा खाल्डाखुल्डीमा किटनाशक विषाधि स्प्रे गर्ने योजना बनेको सह-संयोजक घिमिरेले बताए । 

बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो । आर्थिक वर्ष २०७६र०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७र०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो ।

जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । 

कालाजारको समस्या देखिएको बाहुनीडाँडा दुधकोसी किनारमा पर्छ । मध्यपहाडी लोकमार्गले छोएको तथा तराईसँग सिधा सम्पर्क रहेको बाहुनीडाँडाबाहेक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका तटिय क्षेत्रमा समेत कालाजारको समस्या देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाले पनि केही समयअघि भोजपुर, खोटाङ, ओखलढुंगा लगायतका पहाडी क्षेत्रमा कालाजार देखा परेको जनाएको थियो । 

कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् । 

Logo